१९ माघ,वीरगञ्ज ।वीरगञ्जमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई वीरगञ्ज महानगरपालिकाले तीव्रता दिएको छ। प्रतियोगिताका लागि तोकिएको नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न हाल रातदिन मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ।
तयारीको पछिल्लो अवस्था बुझ्न वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह स्वयं राति अबेरसम्म मैदानमा खटिनु भएको छ। शनिबार राति करिब १० बजे मैदान पुग्नुभएका मेयर सिंहले निर्माण तथा मर्मत कार्यको निरीक्षण गर्दै सम्बन्धित टोलीलाई कामलाई थप तीव्रता दिन निर्देशन दिनुभयो। निरीक्षणका क्रममा उहाँले खेलकुदमार्फत वीरगंजको गरिमा अभिवृद्धि गर्ने लक्ष्य रहेको उल्लेख गर्दै तयारीमा कुनै कमजोरी हुन नदिइने स्पष्ट गर्नुभयो।
हाल मैदानको मुख्य पिच निर्माण कार्य सम्पन्न भइसकेको छ भने खेलाडीहरूको अभ्यास (प्राक्टिस) का लागि थप पिच आवश्यक देखिएपछि नयाँ पिच निर्माणको काम सुरु गरिएको छ। मुख्य पिचको पश्चिमतर्फ रहेको खाली स्थानमा माटो भरेर नयाँ पिच निर्माण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। रातिको समयमा समेत पिच निर्माण तथा मैदान सम्याउने काम जारी रहेको छ।
प्रतियोगिताको मिति नजिकिँदै गर्दा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घा व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारीलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको जनाएको छ। तराईको चिसो मौसमका बाबजुद नगर प्रमुख स्वयं राति १०–११ बजेसम्म उपस्थित भई कामको अनुगमन गर्दा निर्माण टोली तथा स्थानीय खेलप्रेमीहरू उत्साहित देखिएका छन्।

















