Logo

५ साउन, कलैया । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै गएराति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सोमबार राति करिब १२:३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली मिनी ट्रक आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८, इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकोमा उपचारकै क्रममा राति १२:५० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मीन बहादुर घलेले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। टाउको तथा दुवै हातखुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।

तीव्र गतिका कारण भएको दुर्घटनामा मिनी ट्रकको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ भने स्थानीय कानुको घरको एकतर्फको पर्खाल भत्किएको छ। घटनापछि सडक यातायात प्रभावित नभएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै