Logo

५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रको भ्रमणलाई थप प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउन पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न निर्देशन दिएको छ ।

महामन्त्री विपिन कुमार आचार्यमार्फत जारी विज्ञप्तिमा सांसदहरू जनतामाझ जाँदा केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्नेगरी रणनीतिक अभियान चलाउनुपर्ने उल्लेख छ ।

रास्वपाले सांसदहरूलाई भ्रमणका क्रममा पालना गर्नुपर्ने विभिन्न निर्देशिका तथा मापदण्डसमेत स्पष्ट पारेको छ । जसअनुसार कुनै पनि जिल्ला वा क्षेत्रको भ्रमण तय गर्दा सम्बन्धित पार्टी समितिलाई आधिकारिक रूपमा पूर्व–जानकारी गराउनुपर्ने, स्थानीय समितिसँग छलफल गरी त्यस क्षेत्रका ज्वलन्त मुद्दाहरू पहिचान गर्नुपर्ने तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चमुक्त राखेर मितव्ययिता अपनाउनुपर्ने भनिएको छ ।

साथै, भ्रमणका क्रममा प्राप्त जन–सुझाव, गुनासा र स्थानीय समितिका रिपोर्टहरूलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न पनि सांसदहरूलाई सचेत गराइएको छ ।


सम्बन्धित समाचार