५ साउन,काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले निजी शिक्षा र निजी स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने प्रधानमन्त्रीको निर्णयलाई स्वागतयोग्य कदम भएको बताएका छन्।
उनले विद्युत् उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याटले स्वदेशमै उत्पादन हुने विद्युत्को खपतलाई निरुत्साहित गर्ने र आयातित इन्धनमाथिको निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग मेल नखाने धारणा व्यक्त गरेका छन्।
‘स्वदेशी स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्दै आयातित इन्धनमाथिको निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग यस्तो व्यवस्था कदापि मेल खाँदैन,’ घिसिङले उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्कलाई कानुनी रूपमा खारेज गर्नुका साथै विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
घिसिङले प्रधानमन्त्रीको घोषणा सामाजिक सञ्जालमा मात्र सीमित नराखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लगाउने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले उक्त व्यवस्था फिर्ता लिने घोषणा गरेका थिए।




















