५ साउन,काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्ने बताएका छन्। स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवाले बीपी स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै आफू छिट्टै नेपाली भूमिमा फर्किने जानकारी दिएका हुन्।
देउवाले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै लोकतन्त्र, संविधानवाद र जनताको अधिकारका पक्षमा आफ्नो अडान कहिल्यै कमजोर नहुने बताएका छन्।
आफ्नो आठ दशक लामो राजनीतिक यात्रा र कांग्रेसमा बिताएको छ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवन स्मरण गर्दै उनले फरक विचारप्रति राज्यले देखाउने असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन्।
देउवाले प्रतिपक्षलाई कमजोर बनाउन भौतिक तथा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्तिको विरोध गर्नु कांग्रेसको ऐतिहासिक दायित्व भएको बताएका छन्। उनले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर प्रतिपक्षलाई आतंकित पार्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेको आरोपसमेत लगाएका छन्।
उनले जननायक बीपी कोइरालाको मेलमिलाप नीतिलाई मार्गदर्शन मान्दै अहिले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्यको आवश्यकता रहेको बताएका छन्।
विगतका अनुभव र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई जोडेर राष्ट्र निर्माणको साझा संकल्प गर्नुपर्नेमा जोड दिँदै देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि आफू दृढतापूर्वक उभिने बताउँदै उनले नेपाली जनता, युवा पुस्ता र नागरिक समाजसँगको प्रतिबद्धता पुनः सुदृढ गर्दै स्वदेश फर्किन लागेको जानकारी दिएका छन्।






















