Logo

५ साउन,वीरगञ्ज । नेपाली कांग्रेस बारामा लामो समयदेखि जारी आन्तरिक विवाद मंगलबार झडपमा परिणत भएको छ। जिल्ला पार्टी कार्यालय कलैयामा संस्थापन पक्ष र असन्तुष्ट पक्षका कार्यकर्ताबीच भएको झडपपछि अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन र कांग्रेसको विशेष महाधिवेशनपछि चर्किएको विवादका बीच केन्द्रीय समितिबाट निलम्बनमा परेका जिल्ला सभापति राजेश राय यादव पक्ष र संस्थापन पक्षका कार्यकर्ताबीच विवाद भएको हो।

राजेश राय यादव निलम्बनमा परेपछि जिल्ला उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ। भट्टले सोमबार जिल्ला पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग छलफल गर्दै साउन ७ गते हुने ‘जरा अभियान’ समापन तथा बिहीबार मनाइने बीपी जयन्ती कार्यक्रमको तयारीका विषयमा मंगलबार बिहान ११ बजे विस्तारित बैठक आह्वान गरेका थिए।

सोही समयमा जिल्ला महिला संघले पनि पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेपछि दुवै पक्षका कार्यकर्ता आमनेसामने भएका थिए। त्यसपछि विवाद चर्किँदै झडप भएको जिल्ला सचिव भैयाराम यादवले जानकारी दिए।

घटनापछि पार्टी कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार