Logo

५ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताएका हुन्।

तीन दलबीचको समझदारी अन्त्य भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिए। उनले नेपाली कांग्रेससँग पनि संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै राजनीतिक अवस्थाबारे टुंगो लाग्ने बताए।

प्रचण्डले प्रदेशस्तरमा समेत नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत गरेका छन्। बदलिँदो राजनीतिक परिस्थितिअनुसार प्रदेशहरूमा पनि सहकार्यको सम्भावना रहेको उनको भनाइ छ।

प्रचण्ड दुई दिनसम्म मधेश प्रदेशमा रहने कार्यक्रम रहेको छ। यस अवधिमा उनले महोत्तरी र धनुषाका विभिन्न कार्यक्रममा सहभागी हुने तथा प्रदेशस्तरीय नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।


सम्बन्धित समाचार