Logo

५ साउन,वीरगञ्ज । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो। तर केन्द्रबाट आएको नयाँ निर्देशनपछि मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिए।

उनका अनुसार एमालेका ६ जना मन्त्रीहरूले आज प्रदेश सुशासन केन्द्र, जावलाखेल पुगेर मुख्यमन्त्री बानियाँलाई सामूहिक रूपमा राजीनामा बुझाउनेछन्। साथै, एमालेले प्रदेश सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिने तयारी गरेको छ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी केन्द्रको निर्देशनअनुसार सरकारबाट अलग हुने निर्णय गरिएको बताए। नयाँ सरकार गठन र आगामी राजनीतिक रणनीतिबारे केन्द्रबाट प्राप्त निर्देशनअनुसार नै थप कदम चालिने उनले स्पष्ट पारे।

बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ मन्त्रीका रूपमा सहभागी छन्।

नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरे पनि सत्ता गठबन्धन लामो समय टिक्न नसकेको छ। एमालेको समर्थन फिर्तासँगै बागमती प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ।


सम्बन्धित समाचार