५ साउन,काठमाडौं । युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको व्यावसायिक मालवाहक जहाजमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले रुससँग औपचारिक रूपमा विरोध जनाएको छ।
भारतीय विदेश मन्त्रालयले रुसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेको जनाएको छ।
मन्त्रालयका अनुसार आइतबार भएको आक्रमणका क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियोमा सवार पाँच भारतीय नागरिकमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाजमाथि हुने आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थायित्व र निर्बाध सञ्चालनमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ। निर्दोष नागरिकको ज्यान जाने गरी व्यावसायिक जहाजलाई निशाना बनाइनु कुनै पनि अवस्थामा स्वीकार्य नहुने सन्देश रुससमक्ष राखिएको मन्त्रालयले जनाएको छ।
युक्रेनी नौसेनाका अनुसार आइतबार भएको रुसी क्षेप्यास्त्र आक्रमण टर्कीको स्वामित्वमा रहेको तथा गिनी–बिसाउका लागि अन्न बोकेको गोल्डेन लियो नामक कार्गो जहाजमा भएको थियो।
भारत विश्वव्यापी समुद्री व्यापारका लागि ठूलो संख्यामा दक्ष नाविक उपलब्ध गराउने मुलुकमध्ये एक हो। सन् २०२५ को तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय व्यापारिक जहाजमा तीन लाख २० हजारभन्दा बढी भारतीय नाविक कार्यरत छन्।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र रुसबीचको परम्परागत सम्बन्ध नयाँ कूटनीतिक चुनौतीबाट गुज्रिरहेको छ। पछिल्लो घटनापछि भारतले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै रुससँग प्रत्यक्ष रूपमा असन्तुष्टि जनाएको हो।




















