५ साउन, काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीविरुद्ध एकवटा उजुरी दर्ता भएको छ ।
संसदीय सुनुवाइ समितिको मङ्गलवार बसेको बैठकले प्रस्तावित पदाधिकारीहरूविरुद्ध परेका उजुरी खोल्ने क्रममा कार्कीविरुद्ध उजुरी परेको जानकारी दिएको हो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार अन्य दुई प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा। राजीव सुब्बाविरुद्ध भने कुनै पनि उजुरी परेको छैन ।
संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी आह्वान गरिएकोमा पाल्पाको तानसेन नगरपालिका–९ का भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न र विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
यसका साथै सुनुवाइ प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्नुपर्ने सुझावसहित ललितपुरका उज्वलकृष्ण श्रेष्ठबाट एकवटा सुझाव पनि प्राप्त भएको सभापति श्रेष्ठले बताए ।
समितिले कार्यविधिअनुसार प्राप्त उजुरी सदस्यहरूलाई वितरण गरेको छ भने प्रस्तावित तीनै जनाको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ । यसअघि गत असार १९ गतेको संवैधानिक परिषद्को बैठकले उनीहरूलाई उक्त पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।




















