Logo

४ साउन, चितवन । नेपालमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा सार्वजनिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक संरचनासँग जोडिएको गम्भीर चुनौतीका रूपमा देखिन थालेका छन्। तर अहिले चिन्ताको विषय केवल आत्महत्याको बढ्दो संख्या मात्र होइन, त्यसको समाचार प्रस्तुति, सामाजिक सञ्जालमा हुने प्रचारप्रसार र घटनालाई ‘भाइरल कन्टेन्ट’ बनाउने प्रवृत्ति पनि हो।

पछिल्लो समय केही सञ्चारमाध्यम, युट्युबर, टिकटकर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्महत्याका घटनास्थलमै पुगेर ‘यही पुलबाट हाम फालेको’, ‘यही रुखमा झुन्डिएको’ वा ‘यही ठाउँमा आगो लगाएको’ भन्दै भिडियो बनाउने, घटनाको तरिका विस्तारमा देखाउने र सनसनीपूर्ण शीर्षक राखेर भ्युज, लाइक तथा फलोअर बढाउने अभ्यास बढेको देखिन्छ। यस्तो सामग्रीले पीडित परिवारलाई थप पीडा दिने मात्र होइन, मानसिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिलाई समेत नकारात्मक रूपमा प्रभावित गर्न सक्ने भन्दै विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

मनोविज्ञानमा यसलाई ‘कपीक्याट सुसाइड’ (Copycat Suicide) अथवा ‘वेर्थर इफेक्ट’ (Werther Effect) भनिन्छ। अर्थात् कुनै व्यक्तिले देखेको वा सुनेको आत्महत्याको घटनाको नक्कल गर्ने सम्भावना बढ्नु। कतिपय स्थानमा एउटै घटनापछि फेरि त्यही ठाउँमा अर्को आत्महत्या दोहोरिएको उदाहरणसमेत देखिन थालेपछि यसबारे थप सतर्कता आवश्यक भएको सरोकारवालाहरूको निष्कर्ष छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले पनि आत्महत्यासम्बन्धी समाचार प्रकाशन गर्दा घटनाको तरिका, स्थान, प्रयोग भएका साधन वा दृश्यलाई विस्तृत रूपमा सार्वजनिक नगर्न स्पष्ट सिफारिस गरेको छ। आत्महत्यालाई कुनै समाधानका रूपमा प्रस्तुत गर्नु, अत्यधिक भावनात्मक वा सनसनीपूर्ण शीर्षक प्रयोग गर्नु तथा घटनास्थललाई आकर्षणको केन्द्र बनाउनु गलत अभ्यास भएको डब्लुएचओको निष्कर्ष छ।

डब्लुएचओका अनुसार यस्ता समाचारमा मानसिक स्वास्थ्य, जोखिमका संकेत, परिवार तथा समुदायको भूमिका, सहयोग प्राप्त गर्ने उपाय र आत्महत्या रोकथामका सन्देशलाई प्राथमिकता दिनुपर्छ। आवश्यक परे मानसिक स्वास्थ्य सेवा वा परामर्श उपलब्ध हुने स्रोतहरूको जानकारीसमेत समावेश गर्न सुझाव दिइएको छ।

घटनास्थलको प्रचार होइन, रोकथाममा केन्द्रित हुनुपर्छ

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले आत्महत्या भएका स्थानलाई सामाजिक सञ्जालमा अतिरञ्जित रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजमा सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पारिरहेको बताउनुभयो। उहाँका अनुसार घटनास्थल देखाएर प्रचार गर्नेभन्दा त्यस्ता घटना कसरी रोक्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ।

उहाँले जोखिम रहेका नदी किनार, पुल तथा राजमार्ग आसपासका संवेदनशील क्षेत्रमा सम्भव भएसम्म सीसीटीभी जडान गर्ने, विद्यालय तथा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र विभिन्न संघसंस्थासँग समन्वय बढाउने तयारी भइरहेको जानकारी दिनुभयो।

“आत्महत्या रोकथाम केवल तारजाली वा भौतिक संरचना निर्माण गरेर सम्भव हुँदैन। समाजमा मानसिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि, समयमै परामर्श सेवा र समुदायको सक्रिय सहभागिता आवश्यक छ,” प्रजिअ अर्यालले भन्नुभयो। सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि संवेदनशील विषयमा जिम्मेवारीपूर्वक सामग्री प्रकाशन तथा प्रशारण गर्न उहाँले आग्रह गर्नुभयो।

आत्महत्याका कारण बहुआयामिक हुन्छन्

वरिष्ठ मनोविमर्शकर्ता तथा विद्यालय काउन्सिलर पार्वती पाण्डे का अनुसार आत्महत्या एउटै कारणले हुने घटना होइन। व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक पक्षहरू एकआपसमा गाँसिएर यस्तो अवस्था सिर्जना हुन्छ।

उहाँका अनुसार पारिवारिक कलह, दाम्पत्य जीवनमा समस्या, व्यापार वा व्यवसायमा घाटा, आर्थिक संकट, सामाजिक अपमान, घरेलु हिंसा, सम्बन्धमा विग्रह, बाल्यकालका आघात, आत्मग्लानि, परिवारको अत्यधिक अपेक्षा, सामाजिक सञ्जालको दुरुपयोग तथा निरन्तर मानसिक तनावले व्यक्तिलाई आत्महत्यातर्फ धकेल्न सक्छ।

“बाहिरबाट सामान्य देखिने व्यक्तिले पनि भित्रभित्रै ठूलो पीडा बोकेको हुन सक्छ। त्यसैले समयमै उसको मनोस्थिति बुझ्ने र सहयोग गर्ने वातावरण बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार विद्यालय, परिवार, समुदाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। सञ्चारमाध्यमले घटनाको सनसनी होइन, समाधान, सहयोग र आशाको सन्देशलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ।

मनोरोग विशेषज्ञ डा। खगेन्द्र काफ्ले का अनुसार आत्महत्या बहुआयामिक समस्या हो। व्यक्तिको मानसिक अवस्था, स्वभाव र बाह्य सामाजिक परिस्थितिले संयुक्त रूपमा यस्तो जोखिम सिर्जना गर्छ।

छिट्टै रिसाउने, अत्यधिक आवेगमा आउने, भावना व्यक्त गर्न नसक्ने, सामाजिक रूपमा एक्लिने स्वभाव भएका व्यक्तिमा जोखिम बढी हुन सक्छ। त्यस्तै पारिवारिक विवाद, बेरोजगारी, आर्थिक समस्या, कानुनी झमेला, सामाजिक दबाब, मदिरा तथा लागूऔषधको दुरुपयोग र निरन्तर तनावले पनि जोखिम बढाउने उहाँको भनाइ छ।

डा. काफ्लेका अनुसार आफ्नो चिनजान वा सामाजिक सञ्जालमार्फत आत्महत्याका घटना पटक–पटक देख्दा पनि मानसिक रूपमा कमजोर व्यक्तिमा त्यसको नक्कल गर्ने प्रभाव पर्न सक्छ। त्यसैले यस्ता घटनाको प्रस्तुति अत्यन्त जिम्मेवारीपूर्वक हुनुपर्ने उहाँले बताउनुभयो।

उहाँले आत्महत्याको प्रयास गर्ने धेरै व्यक्तिमा डिप्रेसन, बाइपोलार डिसअर्डर, साइकोसिस तथा अन्य मानसिक समस्या देखिने उल्लेख गर्दै समयमै मानसिक स्वास्थ्य परीक्षण, उपचार, मनोपरामर्श र तनाव व्यवस्थापन गर्न सके धेरै घटना रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो।

मानसिक स्वास्थ्यमा लगानी आवश्यक

भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाकी प्रमुख सुशिला वाग्ले का अनुसार आत्महत्या मानसिक स्वास्थ्यसँग सम्बन्धित जटिल समस्या भएकाले यसको समाधान पनि बहुआयामिक हुनुपर्छ।

महानगरपालिकाले विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण, समुदायस्तरमा मनोसामाजिक परामर्श, स्वास्थ्यकर्मीमार्फत परामर्श सेवा तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रत्येक वडामा मनोपरामर्शदाता ९काउन्सिलर० को व्यवस्था गर्न सके आत्महत्या न्यूनीकरणमा थप प्रभावकारी परिणाम हासिल गर्न सकिनेछ।

सनसनीपूर्ण सामग्रीमाथि निगरानी

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल ले आत्महत्याका घटनालाई सनसनीपूर्ण रूपमा सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्दा त्यसले समाजमा गम्भीर नकारात्मक असर पार्ने बताउनुभयो।

उहाँका अनुसार घटनाको तरिका, स्थान वा दृश्य बारम्बार सार्वजनिक गर्दा मानसिक रूपमा कमजोर व्यक्तिमा ‘वेर्थर इफेक्ट’ अर्थात् नक्कल गर्ने जोखिम बढ्न सक्छ। यस्ता सामग्रीले पीडित परिवारलाई थप मानसिक आघात पुर्‍याउनुका साथै बालबालिका र किशोरकिशोरीमा पनि नकारात्मक प्रभाव पार्न सक्छ।

प्रहरीले साइबर ब्युरोसँग समन्वय गरी अमर्यादित तथा संवेदनशील सामग्रीमाथि निगरानी गरिरहेको, आवश्यक परे त्यस्ता सामग्री हटाउने ९टेकडाउन० तथा कानुनी कारबाही अघि बढाइने उहाँले जानकारी दिनुभयो।

समुदायको पनि उस्तै चिन्ता

भरतपुर महानगरपालिका–५ का स्थानीय मीन प्रसाद खरेलले पनि आत्महत्याका घटनालाई अत्यधिक प्रचार गर्दा समाजमा गलत प्रभाव पर्न सक्ने बताउनुभयो।

“घटना भएपछि त्यसलाई भाइरल बनाउने होइन, किन यस्तो भयो र अब कसरी रोक्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ,” खरेलको भनाई थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले भ्युज र लाइकभन्दा एउटा जीवन बचाउने उद्देश्यलाई प्राथमिकता दिनुपर्छ उहाँले भन्नु भयो ।

पत्रकारिता र सामाजिक सञ्जालका लागि स्पष्ट मापदण्ड

विज्ञहरूका अनुसार आत्महत्यासम्बन्धी समाचारमा घटनाको तरिका, प्रयोग गरिएको साधन, घटनास्थल, शव वा परिवारको पीडालाई सामग्रीको आकर्षण बनाउनु हुँदैन। प्रमाण नपुगी आत्महत्याको कारण घोषणा गर्नु, मृतकको व्यक्तिगत गोपनीयता भंग गर्नु वा घटनालाई रहस्यमय शैलीमा प्रस्तुत गर्नु पनि अनुचित मानिन्छ।

बरु यस्ता समाचारमा मानसिक स्वास्थ्यको महत्व, जोखिमका संकेत, सहयोग प्राप्त गर्ने उपाय, परामर्श सेवा तथा रोकथामका उपायलाई प्राथमिकता दिनुपर्छ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले आत्महत्याजस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। उहाँले आचारसंहितामा के गर्न हुने र के गर्न नहुने विषय स्पष्ट उल्लेख भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र पनि धेरै हदसम्म जिम्मेवार पत्रकारिता गर्न सकिने उल्लेख गर्नुभयो।

उहाँले कुनै पनि विषयलाई सनसनीपूर्ण बनाएर प्रस्तुत गर्नुभन्दा पत्रकारले आफ्नो कर्म, भूमिका र सामाजिक जिम्मेवारी बुझेर काम गर्नुपर्ने बताउनुभयो। सञ्चारमाध्यमले जिम्मेवार ढंगले समाचार सम्प्रेषण गरे यस्ता संवेदनशील विषयमा देखिएका समस्या धेरै हदसम्म समाधान गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।

कानुनले पनि रोक्छ दुरुपयोग

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनु वा त्यस्तो अवस्था सिर्जना गर्नु अपराध मानेको छ। यस्तै, विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत गोपनीयता भंग गर्ने, विभत्स वा हानिकारक सामग्री सार्वजनिक गर्ने कार्यमा कारबाही हुन सक्छ।

त्यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताले आत्महत्या, दुर्घटना तथा अन्य संवेदनशील घटनाको रिपोर्टिङ गर्दा मानवीय संवेदनशीलता, गोपनीयता र जिम्मेवारी कायम गर्न स्पष्ट निर्देशन दिएको छ।

आत्महत्या कुनै मनोरञ्जन, प्रचार वा ‘भाइरल कन्टेन्ट’ बन्ने विषय होइन। यो गम्भीर सामाजिक, मानवीय र सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय हो।

घटनास्थल देखाएर त्रास फैलाउने, मृत्युको दृश्यलाई आकर्षण बनाउने वा संवेदनशील घटनालाई भ्युज र लाइकको माध्यम बनाउने प्रवृत्तिले समाजमा सकारात्मक सन्देश दिँदैन। बरु यसले अर्को व्यक्तिलाई जोखिममा पार्न सक्छ।

त्यसैले समाचार र सामाजिक सञ्जाल सामग्रीको उद्देश्य सनसनी फैलाउनु होइन, समस्याको पहिचान गर्नु, मानसिक स्वास्थ्यबारे सचेतना फैलाउनु, सहयोगका उपायबारे जानकारी दिनु र सम्भावित अर्को जीवन बचाउन योगदान गर्नु हुनुपर्छ। किनभने भ्युजभन्दा ठूलो एउटा जीवन हुन्छ।


सम्बन्धित समाचार
भर्खरै