८ असार वीरगञ्ज । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।
दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
सहिद लखन गाउँपालिका–३ सिलिङमा शनिवार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको हो। सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो।
जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो ।
बेहुला-बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी एिएको छ ।