४ चैत्र, काठमाडौं । बढ्दो डिजिटल कारोबारसँगै वित्तीय सुरक्षामा जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘ग्लोबल मनी वीक’ को अवसर पारेर केन्द्रीय बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा आफ्नो गोप्य पिन कोड कसैलाई पनि उपलब्ध नगराउन जोड दिइएको हो । प्रविधिको विकासले भुक्तानी प्रक्रिया सहज बनाए पनि डिजिटल ठगीका नयाँ-नयाँ शैलीहरू देखा परेकाले आफ्ना संवेदनशील वित्तीय विवरणहरूको सुरक्षामा स्वयम् उपभोक्ता नै जिम्मेवार हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
केन्द्रीय बैंकले विशेष गरी पिन कोड हराएमा, चोरी भएमा वा अरूले थाहा पाएको आशंका लागेमा तुरुन्तै कदम चाल्न सुझाव दिएको छ । यस्तो अवस्थामा हुनसक्ने अनधिकृत र जोखिमपूर्ण कारोबारबाट जोगिन सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तत्काल जानकारी गराई खाता वा कार्ड सुरक्षित गर्न आग्रह गरिएको छ । पछिल्लो समय डिजिटल माध्यमबाट हुने ठगीका घटनाहरू बढ्दै गएकाले वित्तीय साक्षरता र सचेतना नै सुरक्षित कारोबारको मुख्य आधार भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

















