Logo

२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको विवादित कूटनीतिक अभिव्यक्तिका कारण सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ ।

संसद्को गतिरोध फुकाउने प्रयास स्वरूप बोलाइएको यस महत्त्वपूर्ण बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा भने सहभागी नहुने भएका छन् ।

नेपाली कांग्रेसका सांसद फिर्दोस आलमका अनुसार सर्वदलीय बैठकमा पार्टी सभापति थापा सहभागी नहुने निश्चित भएको हो । बैठकमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद आलम आफैँ सहभागी हुनेछन् । तर, राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको यस बैठकमा कांग्रेस सभापति थापा किन सहभागी नहुन लागेका हुन् भन्नेबारे विस्तृत कारण भने खुलाइएको छैन ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठक आज बिहान ९ बजेदेखि सिंहदरबारस्थित संसद् सचिवालय अन्तर्गतको सार्वजनिक लेखा समितिको हलमा सुरु हुने भएको छ ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । हालै मात्र पाँच दिने भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्कनुभएका रास्वपा सभापति लामिछानेले संसद्को गतिरोधले बजेट लगायतका महत्त्वपूर्ण कार्यसूची प्रभावित हुन थालेपछि यो राजनीतिक पहलकदमी लिएका हुन् ।

विगत केही दिनदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन प्रतिपक्षी र विपक्षी दलका सांसदहरूको नाराबाजीका कारण पूर्ण रूपमा अवरुद्ध हुँदै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनी सार्वजनिक रूपमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत र राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै विपक्षीहरू आन्दोलित भएका हुन् ।

आजै प्रतिनिधि सभाको बैठक बस्ने कार्यतालिका रहे पनि गतिरोध अन्त्य नभए बैठक चल्न नदिने विपक्षीहरूको तयारी छ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह आफैँ संसद्‌मा उपस्थित भएर आफ्नो अमर्यादित अभिव्यक्तिका लागि माफी माग्नुपर्ने र उक्त गैरजिम्मेवार अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउनुपर्ने (डिलिट गर्नुपर्ने) अडान राख्दै आएका छन् ।

यो माग सम्बोधन नभएसम्म संसद् बैठक चल्न नदिने अडान विपक्षीहरूको छ । यता, राष्ट्रिय सभाको आगामी बैठक भने जेठ २६ गतेका लागि बोलाइएको छ।


सम्बन्धित समाचार