Logo

२४ जेठ, काठमाडौं । कोशी प्रदेश सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयमाथि पुनर्विचार गर्ने प्रक्रिया थालेको छ ।

पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यका साथ केन्द्र सरकारले लिएको उक्त निर्णयले प्रशासनिक कार्यक्षमता र सेवा प्रवाहमा नकारात्मक असर पारेको निष्कर्ष निकाल्दै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो निर्णय परिमार्जनको गृहकार्य सुरु गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले हप्ताको पाँच दिन मात्र कार्यालय सञ्चालन गर्दा कार्यदिन अपुग हुनुका साथै इन्धन र सरकारी खर्च बचतमा समेत सोचेजस्तो उपलब्धि हासिल नभएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना मातहतका कार्यालयहरूलाई पुनः हप्ताको छ दिन नै कार्यदिन कायम गर्ने (शनिबार मात्र बिदा) सम्बन्धमा सार्वजनिक सुझाव माग्नुभएको छ ।

दुई दिन बिदाका कारण विशेषगरी अस्पतालको ओपीडी सेवा र शैक्षिक संस्थाहरूमा गम्भीर असर परेको र सेवाग्राहीहरू थप मारमा परेको भन्दै चौतर्फी आलोचना भइरहेको सन्दर्भमा मुख्यमन्त्रीको यो कदमलाई चासोका साथ हेरिएको छ ।

स्मरण रहोस्, पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्थापन गर्न भन्दै केन्द्र सरकारले गत चैत २२ गतेदेखि हप्ताको दुई दिन बिदा र ९-५ बजेसम्मको कार्यालय समय लागु गरेको थियो ।

यद्यपि, व्यवहारमा यसले सेवा प्रवाहमा ढिलासुस्ती र पठनपाठनमा समेत दबाब सिर्जना गरेको गुनासो बढेपछि प्रदेश सरकारहरूले आफ्नो क्षेत्राधिकारभित्र रहेर यसमा पुनरावलोकनको पहल थालेका हुन् । कोशी सरकारको यो तयारीले आगामी दिनमा प्रदेशभर सार्वजनिक बिदाको ढाँचामा फेरबदल आउन सक्ने बलियो सम्भावना देखिएको छ ।


सम्बन्धित समाचार