७ साउन,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित ७ जना र निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी, बानेश्वर काठमाडौंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाहीको बागमती नगरपालिका–११ स्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको, लागत अनुमान बढाएर ठेक्का स्वीकृत गरेको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बागमती नगरपालिकाले फनपार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ डीपीआर तयार गर्दा मूल डीपीआरमा नभएका संरचना थप गरी लागत अनुमान बढाएको थियो। साथै, प्रतिस्पर्धा सीमित हुने गरी मूल्याङ्कनका आधार तयार गरेर निश्चित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ।
अनुसन्धानबाट पहिलो चरणको डीपीआरको पर्याप्त पुनरावलोकन नगरी दोस्रो चरणको डीपीआर तयार गरिएको, आयोजनाको आवश्यकता, जोखिम विश्लेषण तथा आर्थिक सम्भाव्यताको पर्याप्त अध्ययनबिना थप संरचना समावेश गरिएको र त्यसबाट राज्यलाई आर्थिक क्षति पुगेको अख्तियारले जनाएको छ।
आयोगले सार्वजनिक खरिद ऐनविपरीत मूल्याङ्कनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलेमतोमा ठेक्का सम्झौता गरिएको दाबी गरेको छ। साथै, निर्माण कम्पनी बिकोई/धुलिखेल जेभीका आधिकारिक प्रतिनिधिले मूल्याङ्कन प्रक्रियामा झुटा तथा किर्ते कागजात पेस गरी ठेक्का प्राप्त गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।
अख्तियारले उक्त अनियमितताबाट सार्वजनिक सम्पत्तिमा करिब ३५ करोड रुपैयाँ बराबरको हानिनोक्सानी भएको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरेको छ। आयोगले आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

























