७ साउन,वीरगञ्ज । पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति पर्साले ‘मिटरब्याजी’ सम्बन्धी सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै बिहीबार प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको छ।
समितिका अध्यक्ष सुनिल पाण्डेको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा सरकार र किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच भएको सहमतिअनुसार लेनदेनसम्बन्धी सबै लिखतलाई अवैध घोषणा गर्ने निर्णयप्रति आपत्ति जनाइएको छ। आर्थिक संकटका बेला आवश्यक परेका व्यक्तिलाई सहयोगस्वरूप रकम उपलब्ध गराइएको र प्रचलित कानुनअनुसार कागजात तयार गरी गरिएको लेनदेनलाई अवैध ठहर गर्नु न्यायोचित नभएको समितिको दाबी छ।
समितिले नेपाली शब्दकोशमै ‘मिटरब्याज’ शब्द नरहेको दाबी गर्दै कानुनसम्मत रूपमा लगानी गर्ने व्यक्तिलाई समेत ‘मिटरब्याजी’को संज्ञा दिँदा सामाजिक प्रतिष्ठामा असर परेको जनाएको छ। प्रमाणबिना लगानीकर्तालाई दोषी ठहर गर्ने प्रयास भएको आरोप लगाउँदै समितिले कानुनी प्रक्रियाबाट भएका लेनदेनको संरक्षण गर्न माग गरेको छ।
सरकारले ऋणी र लगानीकर्ता दुवै पक्षलाई समेटेर समस्याको न्यायोचित समाधान खोज्नुपर्ने, कानुनसम्मत लेनदेनको संरक्षण गर्नुपर्ने र ‘मिटरब्याजी’ शब्दको प्रयोग बन्द गर्नुपर्ने माग समितिले राखेको छ।
माग सम्बोधन नभए चरणबद्ध तथा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत समितिले दिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा समितिका उपाध्यक्ष राजेश पटेल, सचिव सन्तोष कुमार, सहसचिव कबिराज पटेल, कोषाध्यक्ष राजकुमार साह, सहकोषाध्यक्ष म्यानेजर कुमार चौरसियालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।




















