७ साउन, काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षको अवधिमा सुरक्षा निकायले गरेको कडा निगरानी र विशेष अपरेसनका क्रममा करिब ८५ करोड ७७ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै २३ केजी १४१ ग्राम खैरो हेरोइन, १३ केजी ३४७ ग्राम कोकिन, ७ केजी ८ सय ग्राम सेतो हेरोइन, ४३ केजी अफिम र २०४ केजी गाँजा नियन्त्रणमा लिइएको छ ।
नेपाललाई ट्रान्जिट बनाएर तथा सीमा क्षेत्रबाट भित्रिने अवैध लागुऔषधको जालो तोड्ने क्रममा यस अवधिमा ५ लाख ४१ हजार क्याप्सुल ट्रामाडोल, ३४ हजार नाइट्राभेट ट्याब्लेट र ५५० ग्राम एम्फेटामाईन समेत बरामद गरिएको छ ।
बढ्दो लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा गत वर्ष १ हजार ७६८ जना पक्राउ परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५.५५ प्रतिशतले बढी हो। पक्राउ परेकाहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत अदालतमा ९९३ थान मुद्दा दायर गरिएको छ भने अदालतमा पेस गरिएका १ हजार ३१५ जना आरोपीमध्ये १ हजार ११३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । साथै, विभिन्न घटनामा कारागार तथा हिरासतबाट भागेका पुरान्या ५१ जना कारोबारीलाई समेत प्रहरीले पुनः पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
अनुसन्धान अधिकारीहरूका अनुसार लागुऔषधको यो बढ्दो सञ्जालले जनस्वास्थ्यमा भयावह र गम्भीर असर पारिरहेको छ। प्राविधिक विश्लेषणअनुसार एक ग्राम खैरो हेरोइनले १० जना व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्ने हुनाले, ब्युरोले बरामद गरेको २३ केजीभन्दा बढी खैरो हेरोइन बजारमा पुगेको भए यसले दुई लाख ३० हजारभन्दा बढी नागरिकको जीवन बर्बाद पार्ने उच्च जोखिम रहेको थियो ।
यस प्रकारको अवैध कारोबार नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिनुका साथै विशेष अपरेसनहरूलाई अझै तिब्र पारिएको ब्युरोका सहप्रवक्ता (डीएसपी) जीवन निरौलाले जानकारी दिएका छन् ।




















