७ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच भएको पार्टी एकताले सात महिना बितिसक्दा पनि निर्वाचन आयोगबाट वैधानिकता पाउन सकेको छैन । गत पुस १६ गते राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको थियो ।
तर, दुवै पार्टीले दल एकीकरणसम्बन्धी आवश्यक कागजात तथा विवरणहरू समयमा उपलब्ध नगराएका कारण आयोगले यसलाई वैधानिकता नदिएको हो। राप्रपाले असार ३ गते मात्रै दल एकीकरणसम्बन्धी निवेदन दर्ता गराएको थियो ।
त्यसपछि निर्वाचन आयोगले साउन १ गते पत्राचार गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ८ बमोजिम अपुग भएका कागजात तथा थप विवरणहरू तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।




















