७ साउन,काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक तथा सार्वजनिक असन्तुष्टिबीच युक्रेनी सेनाको शीर्ष नेतृत्वमा व्यापक फेरबदल गरिएको छ।
केही दिनदेखि जारी विरोध प्रदर्शनपछि सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिर्स्कीलाई पदबाट हटाइएको छ। उनको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापातीलाई नयाँ सेनाप्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
फेडोरोभको बर्खास्तीपछि सुरु भएको प्रदर्शन प्रारम्भमा उनको पुनर्बहालीको मागमा केन्द्रित भए पनि पछि सिर्स्कीको नेतृत्वविरुद्ध चर्किएको थियो। प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा व्यापक सुधार अघि बढाउन सरकारसँग माग गरेका थिए।
फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति तथा सुधारका विषयमा लामो समयदेखि मतभेद रहँदै आएको बताइएको छ। विश्लेषकहरूका अनुसार यही मतभेदले नेतृत्व परिवर्तनको वातावरण तयार पारेको हो।
यो निर्णय राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक वर्षमा सार्वजनिक दबाबपछि लिनुपरेको दोस्रो महत्त्वपूर्ण निर्णय परिवर्तनका रूपमा हेरिएको छ। यसअघि सन् २०२५ मा भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने सरकारी प्रयासपछि पनि उनले व्यापक आलोचनाको सामना गरेका थिए।
नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व शैली र सैन्य सुधारप्रति सकारात्मक दृष्टिकोण भएका कमान्डरका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार उनको नियुक्तिले सोभियत सैन्य सोचबाट प्रभावित पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याउने संकेत दिएको छ।
किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोले द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेको र उनको नेतृत्वले सेनाको मनोबल बढाउनुका साथै युद्ध क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।




















