७ साउन, काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक अभियन्ता राधिका दासीविरुद्ध अपमानजनक तथा चरित्रहत्या हुने प्रकृतिका सामग्री प्रसारण गरेको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलिपकुमार गिरीले केसी पक्राउ परेको पुष्टि गर्दै उनीविरुद्ध साइबर कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए।
प्रवक्ता गिरीका अनुसार पक्राउ परेकी केसीलाई काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको साइबर कसुरसम्बन्धी प्रावधानअनुसार आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केसीले फेसबुक, टिकटक, युट्युब लगायत विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गर्दै राधिका दासीविरुद्ध आधारहीन आरोप, अफवाह तथा व्यक्तिगत र पारिवारिक चरित्रमा आँच पुग्ने अभिव्यक्ति सार्वजनिक गर्दै आएकी थिइन्। त्यस्ता सामग्रीले दासीको व्यक्तिगत प्रतिष्ठामा गम्भीर असर पुर्याएको भन्दै उजुरी परेको थियो।
राधिका दासीको तर्फबाट औपचारिक उजुरी परेपछि साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धान थालेको थियो र प्राप्त प्रमाणका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनासँगै प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा कुनै पनि व्यक्तिको प्रतिष्ठा, गोपनीयता र व्यक्तिगत अधिकारमा आघात पुग्ने गरी झुटा सूचना, अफवाह वा चरित्रहत्या हुने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबैलाई पुनः आग्रह गरेको छ। यस्ता गतिविधि विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुनअनुसार दण्डनीय हुने प्रहरीको चेतावनी छ।
हाल यस घटनाबारे थप प्रमाण संकलन, डिजिटल सामग्रीको परीक्षण तथा सम्बन्धित पक्षसँग बयान लिने काम जारी रहेको साइबर ब्यूरोले जनाएको छ। अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले उल्लेख गरेको छ।




















