७ साउन,वीरगञ्ज । क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभाव स्थायी रूपमा समाधान गर्न सरकारले औषधिको मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने भएको छ।
कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण औषधि उत्पादन तथा आपूर्तिमा समस्या देखिएको भन्दै सरकारले मूल्य समायोजनको प्रक्रिया अघि बढाएको हो।
गत साता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनसहित आवश्यक सुधार गर्ने निर्णय गरेको थियो।
खड्गीका अनुसार विगत ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको हो। सरकारले तोकेको मूल्यभन्दा बजार मूल्य धेरै बढिसकेका औषधि उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न कठिनाइ हुँदा अभाव सिर्जना भएको उनले बताइन्।
उनका अनुसार केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने उच्च रहेकाले त्यस्ता औषधिको मूल्य घटाउनुपर्ने आवश्यकता पनि देखिएको छ।
मूल्य समायोजनसम्बन्धी मूल्य अनुगमन समितिको सिफारिस स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको अध्यक्षतामा बस्ने औषधि परामर्श परिषद्मा पेस गरिनेछ। परिषद्बाट स्वीकृत भएपछि प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने र मन्त्रिपरिषद्को निर्णयपछि नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने व्यवस्था छ।
केही समयअघि बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन र सिस्प्लाटिन लगायत औषधि तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव देखिएको थियो। यसले उपचाररत बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन चुनौती सिर्जना गरेको थियो।
नेपालमा औषधिको मूल्य निर्धारण र समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (NPPA) ले तोकेको सिलिङ मूल्यलाई आधार मान्ने गरिएको छ।
खड्गीले मूल्य समायोजनको प्रक्रिया कानुनी रूपमा अघि बढिरहेको भए पनि तत्काल औषधि अभाव हुन नदिन सरकार औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीसँग निरन्तर छलफलमा रहेको बताइन्। उनीहरूका समस्या समाधान गर्न आवश्यक सहजीकरणसमेत भइरहेको उनको भनाइ छ।




















