Logo

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले राजनीतिक दलहरूबीचको सहकार्य नै देशको विकास र सुशासनको आधारस्तम्भ भएको बताउनुभएको छ ।

आज गोरखामा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले जनमतको सम्मान गर्दै विकासका एजेन्डामा सबै दलसँग हातेमालो गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पंगा लिन वा जुहारी खेल्न होइन, देशको मुहार फेर्ने संकल्पका लागि हो ।”

महामन्त्री बुर्लाकोटीले लामो समयदेखि थलिएका विकासका आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । विशेषगरी गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकारले अर्थ मन्त्रालयसँग गहन छलफल गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकार एक्लै होस् वा निजी क्षेत्रको साझेदारीमा, यो उद्योग अब जसरी पनि सञ्चालनमा आउनुपर्छ।” उहाँले उद्योग सञ्चालनमा आउँदा त्यसले स्थानीय रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे जोड दिनुभयो ।

त्यसैगरी, बूढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाउन सरकारले ठोस तयारी गरिरहेको उहाँले बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा विनियोजित रकम र अधिकार सम्पन्न प्राधिकरण गठनको तयारीले आयोजना निर्माणले गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । रेमिट्यान्समा मात्र निर्भर रहने अर्थतन्त्र दिगो नहुने भन्दै उहाँले देशभित्रै उद्योग धन्दा स्थापना गरी उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकार केन्द्रित रहेको धारणा राख्नुभयो ।

आफ्नो मन्तव्यको क्रममा महामन्त्री बुर्लाकोटीले राजनीति सही बाटोमा हिँडे मात्र देशको समग्र विकास सम्भव हुने उल्लेख गर्नुभयो । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सुशासन, विकास निर्माण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा केन्द्रित रहेको दाबी गर्दै उहाँले सोही ध्येयका साथ अघि बढ्न सम्पूर्ण कार्यकर्ता र राजनीतिक दलहरूलाई आह्वान गर्नुभयो ।


सम्बन्धित समाचार