Logo

८ असार वीरगञ्ज । देशभर मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम तीव्र रूपमा बढेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार सबै प्रदेशमा पानी परेको छ भने कतिपय स्थानमा भारी वर्षा पनि भएको छ।

‘आज विहान देखि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ’, उनले भनिन्। उनका अनुसार यतिबेला काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा पानी परिरहेको छ।

‘पानी पर्दै रोकिँदै, फेरि पर्दै गरिरहेको छ’, मौसमविद् कँडेलले भनिन्, ‘दिउँसो एकछिन रोकिन्छ तर फेरि साँझपख वर्षा हुन्छ।’

उनका अनुसार लगातार झरीचाहिँ हुँदैन तर एकैछिन हुने खालको वर्षा पनि होइन। ‘तराईतिर त ४र५ घण्टासम्म लगातार वर्षा हुनसक्ने सम्भावना छ’, उनले भनिन्।

मनसुन देशभर फैलिने क्रममा रहेकाले बदली र वर्षा बढ्दै गएको मौसमविद् कँडेलले जानकारी दिइन्।

यही जुन १४ तारिख नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन (वर्षायाम सुरु गराउने मौसमी प्रणाली) त्यसबेलादेखि कोशी, मधेशको पूर्वी भाग, बागमती र गण्डकी प्रदेशसम्म मात्र फैलिएको छ।

तर अहिले बढ्दै गएको बदली र वर्षाले मनसुन गण्डकीदेखि पश्चिमतिर पनि प्रवेश गरेको अनुमान मौसमविद्ले गरेका छन्। ‘तर यसको औपचारिक घोषणाका लागि आज मौसम विभागको बैठक बसेर निर्णय गर्छ’, मौसमविद् कँडेलले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज (शुक्रबार) देखि पर्सि आइतबारसम्म देशभर मौसम बदली र वर्षा हुने सम्भावना छ। यसबीच देशका विभिन्न स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार आइतबारसम्म देशभर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार