Logo

४ बैशाख, काठमाडौं । गएको एकसाता अघि मात्र प्रहरी प्रधान कार्यालयबाट मधेसका ५ जिल्लाका प्रहरी प्रमुखलाई अवधि नपुगी सरुवा गरियो । प्रहरी महानिरीक्षक बसन्त कुँवरले राजनीतिक रिफारिसमा जान खोज्ने सिनियर प्रहरी अधिकारीलाई सचेत गराउनका लागि ती प्रहरी अधिकृतको सरुवा गरिएको प्रहरी बृत्तमा चर्चा छ ।

तत्कालीन उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा सरुवा भएका मधेसका ८ मध्ये ५ जिल्लाका प्रहरी प्रमुखहरु एक बर्ष अवधि नपुग्दै सरुवा भएका हुन । उनीहरुलाई गत चैत २३ गते प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो ।

सामान्यतः एक वर्ष अवधि पूरा भएपछि मात्रै जिल्ल प्रहरी प्रमुखहरु परिवर्तन गरिँदै आएको थियो । मधेसका बारा, रौतहट, महोत्तरी, धनुषा र सर्लाहीका प्रहरी प्रमुखलाई चेन अफ कमाण्ड भन्दा बाहिर राजनीतिक प्रभावबाट मधेसका जिल्ला रोजेको भन्दै हेडक्वाटरले सरुवा गरेको प्रहरी स्रोतको भनाई छ ।

मधेसबाट लखटिएका प्रहरी अधिकारीहरुमा बाराका सुरेश प्रसाद काफ्लेलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत सरुवा गरिएको छ । रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालय आंतकबाद प्रतिरोध संयन्त्र सचिवालय र महोत्तरीका एसपी श्याम कुमार राईलाई अपराध अनुसन्धान विद्यालय महाराजगंजमा सरुवा गरिएको छ ।

त्यसैगरी धनुषाका प्रहरी उपरिक्षक मित्रबन्धु शर्मालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखामा र सर्लाहीका एसपी दयानिधि ज्ञवालीलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौंमा सरुवा गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बारामा महेन्द्र खड्का सरुवा भएर आएका छन् । रौतहटमा दिलीप घिमिरे, महोत्तरीमा नकुल पोखरेल, धनुषामा भुवनेश्वर तिवारी र सर्लाहीमा रविन्द्र बहादुर सिंहलाई पठाइएको छ ।

मधेस भन्ने वित्तिकै प्रहरी, प्रशासन, भंसार र राजश्व समूहका कर्मचारीको लागि आकर्षणको केन्द्र मानिन्छ । भारतसँगको खुला सीमानाको कारण यहाँबाट हुने संस्थागत तस्करी र चोरी पैठारीमा प्रहरी र राजश्व समूहका कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको पाइन्छ । मधेसका जिल्लामा हुने अवैध व्यापार, हुण्डि, नक्कली नोटको कारोवार र लेनदेनका मुद्धामा समेत प्रहरीको भूमिका प्रमुख मानिन्छ ।

सरकारले सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रण गर्न र राजश्व चुवाहट रोकि बैधानिक रुपमा हुने व्यापारलाई बढाउन दिन सुरक्षा निकायका युनिटहरुलाई विशेष निर्देशन दिएको पाइन्छ । तर प्रहरी प्रमुखहरु राजनीतिक संरक्षणमा हुने विभिन्न अपराधमा तटस्थ बस्न नसकेको अवस्थामा नागरिकले राज्यबाट अपेक्षा गरेजस्तो न्याय पाउन सकेको देखिदैन ।

सायद प्रहरी प्रधान कार्यालयको बुझाई पनि त्यहीँ छ होला । मधेसका ८ वटा जिल्लामा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पठाएका एसपी प्रति प्रहरी महानिरीक्षक बसन्त कुँवर असन्तुष्ट थिए । उनले सिफारीस गरेको भन्दा मधेसका राजनीतिक दलका नेताहरुले रुचाएका पात्र मात्र तोकिएको जिल्लामा पठाइएपछि प्रहरी हेडक्वाटर र गृहमन्त्रीको सम्वन्ध खासै राम्रो थिएन ।

त्यहीँ भएर होला नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय छोडेको एक महिना नपुग्दै मधेसका ५ जिल्लाका एसपीलाई सरुवा गरियो । दलका नेताको चाकडी गरेर राम्रो अवसर खोज्ने प्रहरी अधिकारीलाई गृहमन्त्रीमा रवि लामिछाने आएपछि आइजीपीले छानी छानी डण्डा चलाएको बुझाई केही प्रहरी अधिकृतहरुको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई राम्रोसँग चिन्ने एक पूर्व प्रहरी अधिकृतका अनुसार आफूलाई वाइपास गरेर राजनीतिक दलका नेताको ढोका चहार्ने प्रहरी अधिकारी माथि कार्वाही गरेको देखाएर सिनियर प्रहरी अधिकृतलाई हेडक्वाटरमा केन्द्रीकृत हुन आइजिपीले सन्देश दिएका हुन ।

प्रहरी महानिरीक्षको नजरमा पर्साका एसपी कुमोध ढुंगेल समेत परेका छन् । उनलाई पनि प्रहरी हेडक्वाटरले नरुचाइएका प्रहरी अधिकृतको रुपमा लिइन्छ । पर्साको एसपी ढुंगेलको कुनै सामान्य गल्ती फेला पारेको खण्डमा उनको समेत सरुवा हुने निश्चित छ, एक प्रहरी अधिकृतले भने ।

प्रहरी महानिरीक्षक कुँवरले कुनै राजनीतिक दलका नेता वा मन्त्रीलाई रिझाउने भन्दा चेनअफ कमाण्डमा काम गर्ने प्रहरी अधिकृतलाई राम्रो जिल्लामा पठाउन चाहन्छन् । आइजीपी कुँवरको बुझाईमा पर्साका एसपी पनि तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठका निकटका मानिसहरुलाई रिझाएर पर्साको प्रहरी प्रमुख भएका अधिकृत हुन ।


सम्बन्धित समाचार