८ वैशाख,वीरगञ्ज । लामो समय पानी नपरेर खडेरी पर्दा पर्सा बारासहित मध्यतराईका जिल्लाहरुमा गर्मी अत्याधिक बढेको छ । यस क्षेत्रमा विगत केही समयदेखि पानी नपर्दा गर्मी अत्याधिक बढ्दा जनजीवन अस्तव्यस्त बनेको हो ।
गर्मी अचाकाली बढेसँगै तातो हावा ‘लु’ चल्दा स्वास्थ्य समस्याको जोखिमसमेत बढेको छ । मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पछिल्लो चार–पाँच दिनदेखि हल्का र मध्ययमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । तर, केही ठाउँमा चेतावनीको स्तर पार गरेर विषमस्तरको लु चल्न थालेको छ ।
सामान्यतया लगातार बढि समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा “लु”(तातो हावा) चल्न थाल्छ । लु चलेको क्षेत्र पर्साको वीरगञ्ज महानगरपालिकामा शनिबार अधिकतम तापक्रम ४२ डिग्री पुगेको छ । केहिदिनदेखि वीरगञ्जको तापक्रम लगातार ३५ डिग्रीभन्दा माथि मापन गरिएको हो ।
वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि औजार अनुसन्धान केन्द्रमा रहेको अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउत कमकरले यहाँको तापक्रम शनिबार बिहान पौने ९ बजे न्युनतम २५.२ डिग्री सेल्सियस मापन गरिएको जनाए । उनका अनुसार पर्साको तापक्रम शुक्रबार साँझ पौने ६ बजे अधिकतम ३९.२ डिग्री सेल्सियस थियो ।
बिहानैदेखि चर्को घाम लागेर तातो राती समेत हावा नचल्दा पर्सा बारा लगायत ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चर्को घामसँगै बढेको गर्मीले भाईरल ज्वरो, रुघाखोकी, घाउ खटिरा, शरिर दुख्ने, अचेत हुने, टाउको दुख्ने लगायतबाट ग्रसित हुने बिरामीहरु समेत बढेका छन् ।
तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धाहरुमा श्वासप्रश्वासमा असर पुर्याउने चिकित्सकहरुले बताएका छन् । अत्याधिक गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र पानी प्रशस्त मात्रामा पिउन तथा जीवनजल पिउन चिकित्सकहरुले सुझाएका छन् ।
बढ्दो गर्मीसँगै झाडापखाला, ज्वरो, रुघाखोकी लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउन नारायणी अस्पतालका फिजिसियन डा. सरोजरोशन दासले सुझाए । गर्मीसँगै पर्सा लगायत अन्य जिल्लाका वनहरुमा लागेको डढेलो नियन्त्रणमा नआउँदाच तापक्रम बढ्दै गएको बुद्धिजीवीहरु बताएका छन् ।