Logo

१२ वैशाख, बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बारा प्रहरीले बिल भन्दा बढी तथा स्रोत खुलाउन नसकेको ३० लाख ९६ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार सिमरा, जीतपुर, पथलैया, मुसहर्वा लगायतको ठाउँबाट सबै सामान बरामद गरिएको हो ।

बारा प्रहरीले प्रसौनी गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकबाट काजु, बेल्ट, पर्स, कागजसहित ६ लाख मूल्य बराबरको सामान बरामद गरेको छ भने सिमरा सुर्य नेपाल नजिकैबाट नारायणघाटतर्फ जाँदै गरेको ना ४ क १९२८ बसबाट १८ हजार बराबरको सामान बरामद गरेको हो ।

यसैगरी जीतपुरबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेशको ०१–००६–ख ३१३९ नम्बरको चिनी र यूरिया मल बरामद गरेको बारा प्रहरीले जानकारी दिएको छ ।

साथै मुसहर्वाबाट ७२ पर्दा र झुल तथा बरामद गरेको जनाएको छ भने सिरहातर्फ जाँदै गरेको ना ४ ख २७४१ नम्बरको ट्रक २२ लाख १५ हजार मूल्य बराबरको खुद्रा समान बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी बीरगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको पीकअप गाडीबाट ३ लाख मूल्य बराबरको अन्य खुद्रा सामान बरामद गरिएको बारा प्रहरी बताउँछ ।

बरामद सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी भनाइ छ ।


सम्बन्धित समाचार