Logo

१३ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् ।

कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठकले कार्यादेशमा करिब सहमति जुटाएर यसलाई अन्तिम रुप दिने जिम्मा शीर्ष नेतालाई दिएको छ । तर शनिबार नै बस्ने भनिएको शीर्ष नेताको बैठक भने कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएकाले बस्न सकेन ।

कार्यदल सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालका अनुसार शीर्ष नेताको बैठक आइतबार बिहान ९ बजे बस्नेछ । सरकारको नीति तथा कार्यक्रम पारित गर्नका लागि आइतबार नै दिउँसो ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । तर त्यसअघि नै दलहरुबीच सहमति भएर संसद खुल्ने वा नखुल्ने भन्ने टुंगो लागेको छैन ।

कार्यादेशमाथि छलफल गर्न गठित कार्यादलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार संसदमा र सार्वजनिक सञ्चार माध्यममा प्रश्न उठेका सहकारी र उक्त सहकारीको वचत रकम नियम विपरीत लगेर अपचलन गर्ने सञ्चार माध्यमको नाम संसदीय समितिको कार्यादेशमा राख्ने सहमति जुटेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार नेपाली कांग्रेसले भने वचत रकम लैजाने कम्पनी गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि छानबिन गर्ने विषय कार्यादेशमा राख्नुपर्ने अडान राखेको छ । तर सत्तारुढ दलका नेताहरुले भने कम्पनीमाथि छानबिन भएपछि त्यसमा दोषीको पहिचान हुने भन्दै पहिले नै नाम तोक्न नमिल्ने बताएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा लगायत सहकारीको रकम गोर्खा मिडिया प्रालिले गैरकानुनी रुपमा लगेर अपचलन गर्दा वचतकर्ताले वचत फिर्ता नपाएको समाचारहरु सार्वजनिक भएका छन् र नेपाली कांग्रेसले पनि संसदमा यो विषय उठाएको थियो ।

कांग्रेसले ती सहकारीको रकम अपचलन हुँदा गोर्खा मिडिया प्रालिमा हालका गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको भन्दै उनीमाथि छानबिन गर्न माग गर्दै आएको छ ।


सम्बन्धित समाचार