Logo

१० असार,पर्सागढी । पर्साको पर्सागढी नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न भएको छ । समृद्धिको आधार गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भएको छ ।

सभाबाट पर्सागढीको आगामी आर्थिक वर्ष ०८१÷०८२ को लागि नीति तथा कार्यक्रम नगर सभाध्यक्ष एवम् नगर प्रमुख गोकर्ण पाठकले सार्वजनिक गरेका छन् । यस्तै बजेट भने नगर उप प्रमुख पुजा चौधरीले प्रस्तुत गरिन् । सभामा उपप्रमुख चौधरीले ५१ करोड ४७ लाख ६५ हजार कुल बजेट प्रस्तुत गरेकी छन् ।

साथै आर्थिक बर्ष ०८१÷०८२ को लागि संघीय सरकारको वित्तिय समानिकरण अनुदान १२ करोड १७ लाख, सशर्त अनुदान १९ करोड ५७ लाख, राजस्व बाडँफाड १२ करोड १७ लाख, समपुरक अनुदान १ करोड ५० लाख तथा प्रदेश वित्तिय समानिकरण अनुदान ८८ लाख १५ हजार, प्रदेश सशर्त अनुदान ९५ लाख, प्रदेश राजस्व बाडँफाडँ ७० लाख, बिशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, आन्तरिक आय २ करोड ३ लाख ५० हजार र यस वर्षको अनुमानित मौज्दात १ करोड गरी कुल ५१ करोड ४७ लाख ६५ हजारको बजेट पालिकाले ल्याएको हो ।

त्यसअघि दुईदिन देखि केही नगरसभा सदस्यहरुको विरोधका कारण सभा सञ्चालन हुन सकेको थिएन । आज बिहान वडाध्यक्ष र नगरप्रमुखबिच भएको वार्ताबाट सहमति जुटेको हो । उनीहरुबिच ५० लाख वडाको बजेट सिलिङ बढाएर ७० लाख गर्ने, जनप्रतिनिधिहरुलाई सेवासुबिधा दिने, सुत्केरी महिलाहरुका लागि वीरगञ्जसम्मका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, पालिका तथा वडामा लगाइएको आन्तरिक राजस्व घटाउने लगायतको सहमति भएको वडा नम्बर ५ का वडाध्यक्ष नितेश मिश्राले बताए ।

स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत हरिकिसोर प्रसाद चन्द्रबन्सीले गरेको नगरसभाको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले गरेका थिए ।


सम्बन्धित समाचार