Logo

१७ साउन,वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिकामा बजेट कार्यान्वयन सम्बन्धी मेयर र उपमेयरबिच जुहारी चलेको छ । उपमेयर भोला प्रसाद अधिकारीले बजेट कार्यान्वयन नगर्न लेखेपछि त्यसको काउन्टरमा मेयर राजन पौडेलले पनि अर्को पत्र लेखेका छन् ।

मेयर राजन पौडेललाई बुधबार उपमेयर अधिकारीको नाममा एक पत्र लेख्दै सचेतसमेत गराएका छन् । बजेट कार्यान्वयनबारे उपमेयरलाई पत्र लेख्ने कुनै कानुनी अधिकार नभएको भन्दै मेयर पौडेलले उपमेयर अधिकारीलाई पत्र लेख्दै सचेत गराएका छन् ।

सचेत पत्रमा मेयर पौडेलले लेखेका छन्, ‘तपाइले प्रमुख प्रशाकीय अधिकृतलाई यही ११ गते लेखेको पत्र प्राप्त भयो, तपाइले पठाउनु भएको पत्रमा उल्लेखित विषयसंग कुनै पनि कानुनले तपाइलाई त्यसरी लेख्ने अधिकार दिएको छैन । त्यसकार कानुनले अधिकार नदिएको तथा कुनै प्रत्यायोजित अधिकारसमेत नरहेको अवस्थामा गैरकानुनी र अनाधिकृत पत्रचार नगर्न सचेत गर्दछु ।’

पत्रमा मेयर पौडेलले उपमेयरले लेखेको पत्र संविधान र स्थानीय सरकार सञ्चालन ऐनविपरीत रहेको लेखेका छन् । उनी भन्छन्, ‘तपाइको पत्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावली २०७७, सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा जितपुर सिमरा उपमहानगरको कार्यसम्पादन नियमावली २०७५ साथै अन्य कानुनहरु विरुद्ध छ ।’

‘त्यसकारण तपाइले लेखेको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को (ग) र (ङ) को साथै मुलुकी अपराध संहिता २०७४ को दफा ८५ को आकर्षण व्यहोरा जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।
अब उप्रान्त आफ्नो अधिकार भन्दा बाहिर गएर कार्यालयको लेटरप्याड, छाप तथा पदको दुरुपयोग गरेमा कानुनी कारबाही अगाडि बढाउने सचेत पत्रमार्फत मेयर पौडेलले उपमेयर अधिकारीलाई जानकारी गराएका छन् ।

उपमेयर अधिकारी यही ११ गते सिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई बजेट कार्यान्वयन नगर्न पत्र लेखेका थिए । उपमहानगरपालिकाको बजेट पारित सम्बन्धमा अदालतमा विचराधीन मुद्दा रहेको भन्दै उपमेयर अधिकारीले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेका थिए ।


सम्बन्धित समाचार