Logo

१७ साउन,काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो ।

बैठकमा बोल्नुुहँदै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिनुभएको हो ।

उहाँले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताउनुभयो । उहाँले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको जानकारी दिनुभयो । सरुवा गरेर डिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभयो ।

‘‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ । बढुवा पनि हुन्छ । निरन्तरको प्रक्रिया हो । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘प्रहरी राम्रो बनाउनुप¥यो । अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डिआइजी गएर इन्सपेक्टर त आएको होइन होला नि । अर्को डिआइजी आएको होला नि । त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु ।’’

गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिबद्ध छ रहेको बताउनुभयो । उहाँले सदाचार नीति अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार