Logo

२१ साउन, वीरगञ्ज । “५ दिन भयो, जिउ दुखेर साह्रै गाह्रो भयो, नजिकैको मेडिकलबाट नदुख्ने औषधी किनेर खाएँ तर ठिक भएन अनी अस्पताल आएँ उफ्…….” भनेर थकित मुद्रामा खुई काट्ने ८२ वर्षीया तुलसा अधिकारी हुन् । उनी पछिल्लो मौसमी संक्रमणको शिकार बनेकी छिन् ।

पर्सागढी नगरपालिका वडा नं. ३ निवासी अधिकारीलाई आइतबार बिहान ११ः१५ बजे नारायणी अस्पताल परिसरमा भेट्दा सैयौंको संख्यामा बिरामीहरु लाइन लागेका भेटिए ।

बद्लिएको मौसम सँगै पर्सा जिल्लामा गर्मीजन्य सङ्क्रमणका बिरामी बढेका छन् । छिनछिनमै मौसम परिवर्तन हुनथालेको कारण पर्साका निजी तथा सरकारी अस्पतालहरुमा मौसमी संक्रमणका बिरामी बढ्न थालेका हुन् ।

रुघाखोकी, ज्वरोे, टाइफाइड, झाडापखाला, मांसपेशी दुख्ने, घाउ, खटिरा, आउँमासी, टाउको दुख्ने, रिँगटा लाग्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या लिएर बिरामीहरु आउने गरेको नारायणी अस्पताल, वीरगञ्जले जनाएको छ ।

अस्पतालका प्रवक्ता एवमं वरिष्ठ फिजिसियन डा.उदयनारायण सिहंका अनुसार अहिले दैनिक ८ सयदेखि एक हजारसम्म बिरामी चेकजाँचका लागि आउने गरेका छन् । अस्पताल आउनेहरुमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेको र उनीहरुमा प्राय भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, टाइफाइड लगायतका समस्या देखिने गरेको डा. सिंहको भनाई छ ।

गर्मीमा अत्याधिक पसीना आउने भएपनि पर्याप्त पानी पिउने बानीको विकास नहुँदा डिहाइड्रेसनको समस्या बढी हुने उनको भनाइ छ । गर्मीका कारण मुख सुक्ने, पानीको कमी महशुस हुनेहुँदा यस्तो मौसममा बढी झोलिलो पदार्थयुक्त खाना खान र प्रशस्त मात्रामा पानी पिउन चिकित्सकहरुको सुझाव छ ।

मौसम प्रतिकुल भएको अहिलेको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाताको प्रयोग गर्न साथै सुतीको कपडा लगाउन चिकित्सकले आग्रह गरेका छन् ।

 


सम्बन्धित समाचार