Logo

२० साउन,वीरगञ्ज । पर्साको ठोरी –५ मा रहेको सुवर्णपुर स्वास्थ्य चौकीको सेवा प्रवाह औषत प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन्। मङ्गलबार ठोरी –५ को वडा कार्यालयमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकीको सेवा प्रवाहको प्रचारप्रसार हुन नसकेकोले केही समस्या देखिएको भएपनि औसतमा प्रभावकारी देखिएको बताए ।

आर्थिक वर्ष २०८०/८१ मा सुवर्णपुर स्वास्थ्य चौकीले प्रदान गरेको सेवा प्रवाहको विषयमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन सुझाएका छन्। सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाहमा अझै जनतामा विश्वास पैदा भैनसकेको बताउँदै त्यसका निमित्त प्रचारप्रसार आवश्यक पर्ने सहभागीहरुको जोड थियो ।

कार्यक्रममा ज्ञानवाटिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर नेवार , माओवादी केन्द्र सुवर्णपुरका अध्यक्ष बिर बहादुर लोप्चन , युवा समाजसेवी निरोज प्रधान, महिला अगुवा सरिता न्यौपाने लगायतले स्वास्थ्य चौकीको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकीको सेवा प्रवाहको विषयमा विभिन्न सवालहरु गरेका थिए ।सो अवसरमा सो स्वास्थ्य चौकीको व्यवस्थापन समिति अध्यक्ष एवम् वडाध्यक्ष अष्ट बहादुर लोप्चन , गापाको स्वास्थ्य संयोजक रमेशराज थिङ र स्वास्थ्य चौकी ईन्चार्ज भिम बहादुर गोलेले सहभागीहरुको जिज्ञासाको उत्तर दिएका थिए ।

समाजसेवी लेखमान थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो स्वास्थ्य संस्थाले वर्षभरी गरेको गतिविधिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । वडाध्यक्ष लोप्चनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुवर्णपुरका राजनीतिक दलका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार