Logo

१५ भदौ,काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताएका छन् ।

अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पूर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए ।

बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए ।

‘६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो,यसको गुणस्तरमा कुनै प्रश्न आउनुहुँदैन,’निर्माण कम्पनलाई इंगित गर्दै पौडेलले भने, ‘छिटो काम सक्ने नाममा गुणस्तरमा सम्झौता गर्न पाइँदैन, निर्धारित समयभित्र तोकेको गुणस्तरमा कम्प्रोमाइज नगरी काम गर्नुहोला ।’

उनले अस्पतालको भवन निर्माण सँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा थालेर भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एक साथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए । ‘भवन मात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रक्रिया सँगै थालेर भवन बने लगत्तै सबै सेवा सञ्चालन गर्ने गरी अहिल्यैबाट काममा लाग्नुपर्छ,’ पौडेलले भने, ‘यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।’

१२ सय शैय्याको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए ।


सम्बन्धित समाचार