२ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएर पक्राउ गरिएको भन्दै रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै झाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन हुने जानकारी दिए ।
‘हाम्रो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नसाँधियोस् भन्नका लागि ध्यानाकर्षण गराउँदछौं,’ झाले भने, ‘आफ्नो औचित्य पुष्टि गर्ने आधार दिनप्रतिदिन गुमाउँदै गएको छ । सरकारले गलत गर्दैछ भनेर ध्यानाकर्षण गराउन खोज्दासमेत समय पाएका छैनौं ।’
दोस्रो चरणको आन्दोलनमा सहकारीपीडित र मिटरब्याजपीडितलाई न्याय दिनुपर्ने विषय पनि समेटिएको झाले जानकारी दिए ।