Logo

१६ मंसिर, काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना परिणाम आउने क्रम शुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार ८ वटा पालिकाको वडा अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ६ स्थानमा जित हासील गरेको छ । नेकपा माओवादी केन्द्र , नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले एक एक स्थानमा जित हासिल गरेका छन् ।

प्राप्त मत परिणाम अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् । यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । यो वडामा २०७९ मा पनि कांग्रेसले जितेको थियो ।

तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।

यसैगरी रोल्पाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन विजयी भए । पुन ६३४ मत ल्याएर विजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले जम्मा ७० मतमात्र ल्याएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याएका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका हुन् । निकटमत प्रतिस्पर्धी एमालेका मान सिँह बडालले ३५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।

ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ५ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । एमाले उम्मेदवार गंगाबहादुर तामाङ कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । वडामा १२ सयभन्दा बढी मतदाता रहेकोमा ७६८ मतमात्र खसेको थियो ।

कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् । आजै सम्पन्न उपचुनावमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने यो पहिलो वडा बन्यो । पहिलो विजयी उम्मेदवार नै नेमकिपाका नेता बने । १४३ मत ल्याएर शाहीले वडाध्यक्ष जित्दा निकटतम् प्रतिद्वन्द्वी बनिन्, माओवादी केन्द्रका नैसोभा शाही । नैसोभाले ११५ मत ल्याइन् ।

गोरखाको गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए। नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेका दुर्गामाया थापाले ३४५ ल्याइन। यसअघि यो वडा नेकपा एमालेले जितेको थियो। आइतबार सम्पन्न उपचुनावमा भने एमालेबाट माओवादीले यो वडा खोसेको हो।


सम्बन्धित समाचार