११ पुष, काठमाडौँ । नेकपा एमालेको साधरण सदस्यसमेतबाट निष्कासनमा परेका नेता भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ ।
टिभीअन्नपूर्णसँग कुराकानी गर्दै रावलले एमालेको सो निर्णयलाई ओली प्रवृत्तिको निरन्तरता भनेका छन् । उनले अध्यक्ष ओलीको चाहनामा भएको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीतापूर्ण भएको टिप्पणी गरेका हुन् । ‘यो ओलीको निरङ्कुश, तानाशाही र स्वेच्छाचारी काम हो । यसले मेरो देशप्रतिको प्रतिबद्धतामा फरक पर्दैन, यो ओलीले गरेको पार्टी र सरकार नेतृत्वको दुरुपयोग हो’, उनले भने ।
तीन वर्षअघि चितवनमा भएको महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएकोमा आफूमाथि त्यसको रिस फेरिएको उनको भनाइ छ ।
लामो समयदेखि पार्टीको नीतिसँग असहमति राख्दै आएका उनले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने एमालेको निर्णयप्रति विरोध जनाएका थिए ।