११ पुष,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीलाई कारवाही नगरेको पीडितले गुनासो गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्सामा आज जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित हरेन्द्र यादवले पुष ९ गते काटेर भित्र्याउन तयारी गरेको धान राजनीतिक पूर्वाग्रहबाट प्रेरित व्यक्तिहरुले आगजनी गरेको र उनीहरु विरुद्ध प्रहरीमा जाहेरी दिएपनि अहिलेसम्म कारवाही नगरेको बताए ।
पीडित हरेन्द्र यादवका अनुसार पुष ९ गते जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आउने कार्यक्रम नगर्न धम्की दिएको उल्लेख गर्दै उनीहरुले भनेको नमानेपछि भित्र्याउन तयारी गरेको धानमा आगजनी गरेको आरोप छ ।
आगजनीको घटनामा संलग्न रहेका वडा नं.२२ जगरनाथपुरका ३८ बर्षीय नरेश प्रसाद यादव सोही स्थान बस्ने ४५ बर्षीय उमेश साह तेली, ३० बर्षका पन्नालाल महतो कोईरी र २८ बर्षीय अनिल यादव भन्ने प्रदीप यादव विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरेपनि अहिलेसम्म कारवाही नगरेको हरिन्द्र यादवको गुनासो छ ।
आरोपित व्यक्तिहरुले उपेन्द्र यादवको कार्यक्रम हुन नदिएर बिथोल्ने उद्देश्यले एक दिन पहिले नै कार्यक्रम गर्न नदिनु यदि कार्यक्रम गर्न दिए परिणाम राम्रो हुने छैन भनेर धम्की दिएको हरिन्द्रले बताए । उनीहरुले हरिन्द्रको ह्वाट्सएपमा पटक पटक फोन गर्नुका साथै हरिन्द्रका साथी मनोज ठाकुरलाई समेत अरु नेताहरुको बारेमा उपेन्द्र यादवले टिकाटिप्पणी नगरोस भनेर सन्देश पठाएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यादवको खेतमा रहेको ११२० बटा बिटा भएको २१० क्विन्टल धानको प्रति क्विन्टल ३ हजार ५८० को दरले ७ लाख ५१ ह्जार ८ सय र परालको ४० हजार गरी कूल ७ लाख ९१ ह्जार ८ सय बराबरको क्षति पुगेकोले धानमा आगजनी गर्नेलाई कारवाही गर्न जाहेरी दरखास्त दर्ता गरेपनि अहिलेसम्म कारवाही नभएको बताए ।
आगजनी घटनाको अघिल्लो दिनसम्म कार्यक्रम गर्न नदिनु नगराउनु भन्दै धम्की दिने र घटना घटेपछि सामाजिक सञ्जालमा मिसन कम्प्लिट भनेर लेख्नुले उनीहरुकै संलग्नता रहेको दावी सहित उनीहरुमाथि किटानी जाहेरी दिएको र अहिलेसम्म कारवाही नभएको पीडितको भनाई छ । घटना जसपा नेपाल र जसपाबीचको द्वन्द्वसँग जोडिएकोे छ ।
वीरगन्ज २२ मै घर रहेको संघीय सांसद प्रदीप यादव उपेन्द्र यादवको जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जसपा पार्टी गठन गरेपछि उपेन्द्र र प्रदीपबीच राजनीतिकद्वन्द्व चलिरहेको छ । उनीहरुबीचको राजनीतिकद्वन्द्वको शिकार भने जगरनाथपुर २२ का किसान हरेन्द्र यादव बनेका छन् । जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले पर्सा प्रहरीले पीडितको न्यायको लागि काम नगरेको आरोप लगाएका छन् ।
उनले भने, ‘घटनाको विषयमा कुरा गर्न जाँदा जिल्ला प्रहरी कार्यालय पर्साको काम कारवाहीबाट जसपा नेपाल सन्तुष्टि छैन । स्वयं प्रहरी प्रमुखले दबावको कुरा गर्नुहुन्छ । मलाई धेरै दबाव छ । कुन किसिमको दबाव हो ? यसको मतलब यहाँ कानूनी राज्य छैन । सामाजिक न्याय मरेको छ ।
जसको लाठी उसको भैंसी भने जस्तै अहिलेको फितालो प्रहरीबाट अनुसन्धान भएको मैले पर्सावासी भएदेखि देखेको छैन ।’ जोहरी परेकाहरुलाई तत्काल कारवाही नगरे जसपा नेपालले चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिए ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुगेलले भने घटनाको विषयमा सुक्ष्म अनुसन्धान भईरहेको बताए । उनले भने, ‘अन्न जलाएको पो हो त । यो घटनामा हामी संवेदनशील छौं । कारवाही प्रकृया अगाडि बढाएका छौं । उहाँहरुले भनेजस्तै नभएर फरक पनि हुनसक्छ ।
त्यस विषयमा अनुसन्धान भईरहेको छ ।’ पत्रकार सम्मेलनमा जसपा नेपालका अध्यक्ष रामनरेश यादव, कुमारबन्धु रुपाखेती, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता र पीडित हरेन्द्र यादवको उपस्थिति रहेको थियो ।