Logo

४ फागुन, काठमाडौँ । भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये तीन जना बालबालिका छन् ।

शनिबार राति भीडका कारण भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो । प्रयागराज जान हजारौं यात्रुले रेल कुरिरहेका बेला दुर्घटना भएको हो ।

डीसीपी (रेलवे) केपीएस मल्होत्राले प्लेटफर्म नम्बर १२, १३ र १४ मा अस्वाभाविक भीड भएको बताउँदै स्थिति नियन्त्रणबाहिर गएको जानकारी दिए। दुर्घटना प्लेटफर्म नम्बर १३ र १४ मा भएको हो, जहाँ प्रयागराज जाने रेलहरू ढिलो भएका कारण हजारौँ यात्रु जम्मा भएका थिए ।

प्रयागराज स्पेशल ट्रेन आउने बेलामा अचानक भुवनेश्वर राजधानी एक्सप्रेस प्लेटफर्म १६ मा आइरहेको घोषणा गरियो । यसले गर्दा यात्रुहरू आत्तिएर भागे । जसले भागदौड मच्चायो ।

व्यवस्थापनको लापरबाहीका दुर्घटना हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लगातार दुई हप्तादेखि भीड बढिरहेको भएपनि रेलवेले कुनै नियन्त्रण कक्ष वा विशेष सुरक्षा व्यवस्था नगरेको बताइएको छ ।

भागदौडको घटना राति करिब ९:५५ बजे भएको थियो। जब हजारौँ यात्रु प्रयागराज जाने रेल कुर्दै थिए। प्रहरी उपायुक्त (रेलवे)का अनुसार जब प्रयागराज एक्सप्रेस ट्रेन प्लेटफर्म नम्बर १४ मा उभिएको थियो, त्यहाँ ठूलो भीड जम्मा भइसकेको थियो ।

स्वतन्त्रता सेनानी एक्सप्रेस र भुवनेश्वर राजधानी एक्सप्रेस ढिलो भएका कारण यी ट्रेनका यात्रुहरू पनि प्लेटफर्म नम्बर १२, १३ र १४ मा जम्मा भएका थिए। रेलवेले प्रत्येक घण्टा १,५०० सामान्य टिकट बिक्री गरिरहेको थियो, जसका कारण स्टेशनमा भीड झन् बढ्दै गयो र स्थिति नियन्त्रणबाहिर पुग्यो ।

उच्चस्तरीय छानबिनको आदेश
रेलमन्त्री अश्विनी वैष्णवले घटनापछि उच्चस्तरीय छानबिनको आदेश दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नयाँ दिल्ली रेलवे स्टेशनमा अचानक भीड नियन्त्रण गर्न ४ विशेष ट्रेनहरू सञ्चालन गरिएको छ। अहिले भीड कम भइसकेको छ।’

भारतका रक्षा मन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘नयाँ दिल्ली रेलवे स्टेशनबाट दुखद् खबर आएको छ। रेलवे प्लेटफर्ममा भागदौड मच्चिएर भएको मृत्युबाट म अत्यन्तै दु:खी छु। शोकाकुल परिवारप्रति मेरो गहिरो समवेदना छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

दिल्लीका उपराज्यपाल वीके सक्सेनाले घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार