१९ माघ, काठमाडौँ । रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा कम्तीमा १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईके र आपतकालीन सेवाका अनुसार आइतबार ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा काम सकेर फर्किँदै गरेका मजदुर चढेको बसलाई लक्षित गरी रुसी फौजले आक्रमण गरेको हो ।
उक्त आक्रमणमा अन्य सात जना घाइते भएका छन् । सुरुमा मृतकको सङ्ख्याबारे केही अन्योल देखिए पनि सरकारी निकायले १५ जनाकै मृत्यु भएको औपचारिक पुष्टि गरेका छन्। आइतबारै युक्रेनका विभिन्न क्षेत्रमा भएका अन्य आक्रमणमा थप दुई सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।
रुसी आक्रमणको दायरा सर्वसाधारण र स्वास्थ्य संस्थासम्म फैलिएको छ । झापोरिझियास्थित प्रसूति अस्पताल नम्बर ३ लाई लक्षित गरी गरिएको ड्रोन हमलामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये बच्चा जन्माइरहेका दुई सुत्केरी महिला पनि रहेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा अस्पतालका झ्यालका सिसा चकनाचुर भएको, कोठाभित्र भग्नावशेष थुप्रिएको र अग्नीनियन्त्रक तथा उद्धारकर्मीहरूले बिरामीलाई सुरक्षित स्थानतर्फ सारिरहेको दृश्य देखिन्छ ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले यी आक्रमणलाई राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शान्ति प्रयासको आवरणमा सर्वसाधारणविरुद्ध युद्ध जारी राखेको’ प्रमाणका रूपमा टिप्पणी गरेका छन् ।
ड्निप्रो सहरमा भएको अर्को ड्रोन हमलामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ। यस्तै, खर्सोन र खार्किभ क्षेत्रमा भएको गोलाबारीका कारण सर्वसाधारण घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार रुसले पछिल्ला दिनमा ड्रोन र मिसाइल आक्रमणलाई थप तीव्र बनाएको छ ।
जनवरीदेखि नै रुसले युक्रेनको विद्युतीय ग्रिड र ऊर्जा पूर्वाधारलाई लक्षित गरी निरन्तर आक्रमण गरिरहेको छ । माइनस २० डिग्री सेल्सियससम्मको कठोर चिसोका बीच लाखौँ युक्रेनी नागरिक ताप र बिजुलीविहीन अवस्थामा बस्न बाध्य भएका छन्, जसले मानवीय संकटलाई थप गहिरो बनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिसो मौसमका बेला आक्रमण रोक्न पुटिन सहमत भएको दाबी गरे पनि क्रेमलिनले उक्त अस्थायी युद्धविरामको अवधि आइतबारै समाप्त भइसकेको जनाएको छ। त्यसलगत्तै आक्रमणहरू पुनः तीव्र बनेका छन् ।
यसैबीच, युक्रेनले रुसले ड्रोन सञ्चालनका लागि प्रयोग गरिरहेको स्टारलिंक भू-उपग्रह प्रणाली अवरुद्ध गर्न इलन मस्कको स्पेस एक्स कम्पनीसँग सहकार्य गरिरहेको जनाएको छ। युक्रेनी पक्षले प्रविधिगत प्रतिकारलाई युद्धको नयाँ मोर्चा मानेको छ ।
लगातारका आक्रमण, ऊर्जा संकट र कूटनीतिक अनिश्चितताबीच युक्रेनमा शान्तिको आशा झन् कमजोर बन्दै गएको देखिन्छ ।

















