Logo

६ साउन,वीरगञ्ज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘एक घर, एक बिरुवा’ अभियानका साथ हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बिरुवा वितरणसँगै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको थियो। साथै विद्यार्थीहरूलाई प्रत्येक घरमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्न आग्रह गरिएको आयोजकले जनाएको छ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा सहभागी भएका थिए।

त्यसैगरी उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्की लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै ‘एक घर, एक बिरुवा’ अभियानलाई जनस्तरसम्म विस्तार गरी प्रत्येक नागरिकलाई वृक्षारोपण र बिरुवा संरक्षणमा सहभागी गराउने उद्देश्य रहेको बताए। उनले बिरुवा रोप्नुका साथै त्यसको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिए।

प्रमुख अतिथि महावाणिज्यदूत देविसहाय मीणाले यस्ता वातावरणमैत्री अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै युवा पुस्तालाई प्रकृति संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि वातावरण संरक्षण, हरित शहर निर्माण तथा सामुदायिक प्रहरी–नागरिक सहकार्यलाई थप प्रभावकारी बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै