Logo

६ साउन,वीरगञ्ज । सर्लाहीको बसबरिया गाउँपालिका–२ मा मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटमा एकै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये इन्दल सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनामा इन्दल सहनीसँगै उनका छोरा उमेश सहनी, श्रीमती भगवती कुमारी सहनी र परिवारका अर्का सदस्य मुना सहनी घाइते भएका छन्। उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।

पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको सुरक्षणस्वरूप २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको थियो। साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने मौखिक सहमति भएको उनीहरूको दाबी छ।

सहनी परिवारले सुरुमा ६ लाख रुपैयाँ र त्यसपछि पटक–पटक गरी करिब १०–११ लाख रुपैयाँ बुझाइसकेको जनाएको छ। वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको बताइए पनि त्यसअघि नै साहु लक्ष्मी कुर्मी राउतको निधन भएको पीडित पक्षले जनाएको छ।

पीडितका अनुसार त्यसपछि राउतका छोरा बिलास शाहले उक्त जग्गा अर्को व्यक्तिको नाममा बिक्री गरिदिएका थिए। सबै रकम चुक्ता गरिसक्दा पनि जग्गा फिर्ता नपाएको सहनीको दाबी छ। विवादित जग्गा भने पछिल्लो १० वर्षदेखि सहनी परिवारले नै जोतभोग गर्दै आएको बताइएको छ।

मिटरब्याजविरुद्धको आन्दोलनमा सक्रिय इन्दल सहनी ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’का सहभागीसमेत हुन्। आन्दोलनबाट घर फर्किएपछि साहु पक्षले विवादित जग्गामा जबर्जस्ती धान रोप्न खोजेको र त्यसको विरोध गर्दा आफूहरूमाथि आक्रमण भएको पीडित पक्षको आरोप छ।

पीडितका अनुसार विशाल शाहको नेतृत्वमा विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, रामप्रवेश शाह तथा परिवारका अन्य सदस्यले सामूहिक रूपमा कुटपिट गरेका हुन्।

घटनाबारे प्रहरीमा उजुरी दिने तयारी भइरहेको पीडित पक्षले जनाएको छ। यद्यपि आरोपित पक्षको प्रतिक्रिया प्राप्त हुन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै