Logo

६ साउन, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूबाट आउने गुनासो र उजुरीहरूको सम्बोधनमा देखिएको ढिलासुस्तीलाई अन्त्य गर्न कडा कदम चालेको छ ।

विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्न निर्देशन दिएको हो । विगतमा मन्त्रालय, हेल्लो सरकार वा सीधा कार्यालयमा परेका उजुरीहरू समयमै नसुनेको, कर्मचारीहरूको व्यवहार चित्तबुझ्दो नभएको र न्याय दिन ढिलाइ गरेको व्यापक गुनासो श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पुगेपछि विभागले सेवा प्रवाहमा सुधार ल्याउन यो कदम चालेको हो ।

नयाँ निर्देशनअनुसार अब कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले उजुरी प्राप्त भएको १ घण्टाभित्रै आवश्यक सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित सेवाग्राहीलाई गराउनुपर्नेछ ।

सुशासन ऐन र निजामती सेवा ऐनअनुसार कर्मचारीले आफ्नो आचरण तथा जिम्मेवारी पालना गर्नुपर्ने, उजुरी आफ्नो क्षेत्राधिकारभित्र नपरेमा सेवाग्राहीलाई तत्काल जानकारी गराएर सम्बन्धित निकायमा पठाउनुपर्ने र प्रतिष्ठानहरूसँग समयमै प्रतिक्रिया लिई श्रम कानुन बमोजिम वार्ता वा निर्णयको प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।

श्रम अदालत र कार्यालयबाट भएका आदेशहरूको कार्यान्वयनलाई समेत प्रभावकारी बनाउन तथा हेल्लो सरकारबाट प्राप्त गुनासोहरू यथाशीघ्र फछ्र्योट गरी जानकारी गराउन विभागले विशेष रूपमा जोड दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै