६ साउन, काठमाडौं । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेसँगै त्यसको विरोधमा युवा तथा विद्यार्थीहरू सडकमै उत्रिएका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दुई दिनअघि सम्पन्न सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवा आयोगको पदपूर्ति नगर्ने भनी गरेको विवादास्पद निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन् ।
लोकसेवाको पूर्व निर्धारित कार्यतालिका अनुसार नै विज्ञापन खुलाएर परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनकारीहरूले वर्षौँदेखि लोकसेवाको कडा तयारीमा रातदिन खटिरहेका हजारौँ युवाहरूको पसिना र रोजगारीको सपनामा सरकारले लात हानेको गुनासो पोखेका छन् ।
विरोध प्रदर्शनका क्रममा युवाहरूले ‘पहुँच भए खाऊ युवा–स्वकीय सचिव खाऊ, लोक सेवा भिड्ने भए भर्ना छैन जाऊ’, स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’ र देशमै बस्न–बाँच्ने वातावरण सिर्जना गर’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि फजिलमा पर्ने कर्मचारीको व्यवस्थापन नभएसम्म स्थायी पदपूर्तिमा रोक लगाउने र प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति अनिवार्य गर्ने सरकारी निर्णयले करार प्रणालीलाई प्रश्रय दिने र योग्य तथा प्रतिस्पर्धी युवाहरूको भविष्य अन्धकार बनाउने उनीहरूको तर्क छ ।
राजनीतिक प्रभाव र भनसुनका आधारमा भन्दा पनि कानुन र मेरिटको आधारमा खुला प्रतिस्पर्धाबाट रिक्त दरबन्दीहरू समयमै पूर्ति गरिनुपर्ने उनीहरूको दृढ अडान रहेको छ ।




















