६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान राजनीतिक नेतृत्वको कार्यशैलीप्रति तीखो व्यङ्ग्य गर्दै सरकार र प्रतिपक्ष दुवैको संयम तथा दूरदर्शितामाथि प्रश्न उठाएका छन् ।
बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित ‘ग्रिन रन’ कार्यक्रममा ५ किलोमिटर दौड पूरा गरेपछि उनले ‘गाडीमा ब्रेक नहुनेले सरकार र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै नेतृत्वको लापरबाही शैलीमाथि कटाक्ष गरेका हुन्। कार्यक्रममा उनले बीपीको विचारबाट विचलित नभई अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै जलवायु परिवर्तनलाई विकासको मूल एजेन्डा बनाउने र कांग्रेसद्वारा स्थापित ‘मानव सहायता कल्याण कोष’ मार्फत विस्थापित सुकुमवासी, एकल महिला तथा बालबालिकालाई सहयोग गर्ने घोषणासमेत गरेका छन्।




















