
२६ चैत, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश सभामा सम्बोधन गर्दै छन् । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनअघि मुख्यमन्त्री, सभामुख तथा नेकपा एमालेका प्रदेश संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी हेलिकोप्टरमार्फत सिरहास्थित सैनिक क्याम्प जाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिरहाको सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि, ओली लहानकै सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नेछन् । आमसभा दिउँसो १ बजेपछि सुरु हुने बताइएको छ ।
कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली सोही हेलिकोप्टरबाट दिउँसो साढे ३ बजे राजधानी फिर्ता हुने छन् । प्रधानमन्त्री ओली भोलि ताप्लेजुङ जाने कार्यक्रम रहेको छ, जहाँ केबलकार निर्माणको विषयमा उत्पन्न विवादबारे अवलोकन तथा छलफल गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री ओलीले सातैवटा प्रदेशसभामा सम्बोधन गर्ने योजना अन्तर्गत आज मधेश प्रदेशमा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले अन्य प्रदेशमा पनि सम्बोधन गरिसकेका छन् ।