Logo

४ जेठ, वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित शान्ति टोलको खेल मैदानमा शनिबार राति जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रूपमा स्थगन भएपछि स्थानीय कलाकार तथा आयोजकहरूले गम्भीर खेद प्रकट गरेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाईबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको छ ।

प्रत्यक्षदर्शीका अनुसार, शनिबार राति ९ बजेर ५ मिनेट जाँदा डीएसपी वाईबा आफैं मञ्चमा पुगेकी थिइन्। कार्यक्रम प्रस्तुत गरिरहेका कलाकार सुनील पंडितको हातबाट उनले माइक खोसिन् र लाउडस्पीकरको तारसमेत चुँडाइदिएकी थिइन् । कुनै किसिमको जानकारी वा सुझाव नदिई डीएसपी वाईबाले इशारामा कार्यक्रमको समय समाप्त भएको भन्दै तत्काल रोक्न निर्देशन दिएकी थिइन् ।

यसरी बिना कुनै स्पष्ट कारण र पूर्व सूचना कार्यक्रम अवरुद्ध भएपछि आयोजक तथा स्थानीय बासिन्दाहरू निराश भएका छन्। मनोरञ्जन लिइरहेका दर्शकहरू कार्यक्रम बीचमै रोकिएपछि खिन्न भएका थिए भने कलाकारहरूले पनि आफ्नो प्रस्तुति पूरा गर्न पाएनन् ।

दुब्र्यवहारको तुलनाः काठमाडौंमा भव्य कार्यक्रम, जितपुरमा हस्तक्षेप
यसैबीच, सोही रात काठमाडौंको होटल हायात ग्राउन्डमा आयोजित कार्यक्रममा भारतीय कलाकार नोरा फतेही र नेपाली कलाकारहरूले अबेर रातिसम्म प्रस्तुति दिएका थिए ।

त्यहाँ कुनै प्रहरी हस्तक्षेप नहुनु र सिमराको कार्यक्रममा कडाइ हुनु दुई प्रकारको मापदण्ड अपनाइएको गुनासो स्थानीय तहबाट उठेको छ । “कानुन सबैका लागि समान हुनुपर्छ, तर व्यवहार फरक भएको देखिन्छ,” एक स्थानीय बासिन्दाले प्रतिक्रिया दिए ।

सांस्कृतिक अभिव्यक्तिमा हस्तक्षेपको निन्दा
स्थानिय कलाकार तथा बासिन्दाहरूले डीएसपी शुभद्रा लामा वाइबाको व्यवहारप्रति खेद प्रकट गरेका छन् र यस घटनाले स्थानीय कलाकारहरूको मनोबल गिराएको, साथै कला र संस्कृतिको प्रवद्र्धनमा बाधा पुगेको बताएका छन् ।

यस घटनाप्रति स्थानीय कलाकार सुनील पंडितले गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, “हामीले स्थानीय स्तरमा खुसी र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिरहेका थियौं । तर, डीएसपी साहेबको यो व्यवहार अत्यन्तै दुःखद छ । यसले कार्यक्रम आयोजकलाई ठूलो आर्थिक नोक्सानी भएको छ भने कलाकारहरूको मनोबल पनि गिरेको छ ।”

प्रशासनको भनाइ : “सूचना दिइएको थियो, अटेर भयो”
यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने, “महोत्सवको उद्घाटनकै समयमा आयोजकलाई ८ बजेपछि कार्यक्रम बन्द गर्न अनुरोध गरिएको थियो। तर ९ बजेसम्म पनि कार्यक्रम रोकिएको थिएन। प्रहरी बाध्य भएर हस्तक्षेप गर्नुपर्‍यो ।”

उनका अनुसार, रातको समयमा ठूलो आवाजको डिजे, अश्लील गीत तथा उछृंखल नृत्य निषेधित छ, जुन पहिले नै सार्वजनिक सूचना मार्फत जानकारी दिइसकिएको हो । साथै उनले भने, “काठमाडौँमा के भयो त्यो हाम्रो चासोको विषय होइन । प्रत्येक जिल्लाको सुरक्षाका लागि त्यहाँको स्थानीय सुरक्षा समितिले निर्णय गर्ने हो ।”


सम्बन्धित समाचार