४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसानचोक नजिक शुक्रबार बिहान घटेको एक दर्दनाक घटनाले सम्पूर्ण स्थानीय समुदाय स्तब्ध बनेको छ। ४२ वर्षीय लिलाराज गिरीले आफ्नै सात वर्षीय छोरी प्रभा र पाँच वर्षीय भतिज सजन गिरीको हत्या गरेका छन्।
स्कूल जान तयार भइरहेका बालबालिकालाई खुर्पाले घाँटीमा प्रहार गरेर हत्या गरिएपछि लिलाराजले आफूले पनि आत्महत्या प्रयास गरेका थिए। घाइते अवस्थामा भेटिएका लिलाराज हाल चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत छन् ।
दुई सन्तानको सपना चुँडियो एक क्षणमै
प्रभा र सजन मदरल्याण्ड बोर्डिङ स्कुलमा कक्षा एक र एलकेजीमा अध्ययनरत थिए। विद्यालय पुग्न केही मिनेटमात्र बाँकी रहँदा बाबुले आफ्नै सन्तानमाथि हमला गरे। स्थानीयका अनुसार लिलाराजले सुरुमा भुइँतलामा सजनलाई आक्रमण गरेपछि छोरी प्रभालाई माथिल्लो तलामा लगेर घाँटी रेटेका थिए।
बिरामी छोराका लागि श्रीमती अस्पतालमा, घरमा थिए बुबा र छोरी
लिलाराजकी श्रीमती बिमला गिरी त्यही दिन अस्पतालमा भर्ना गरिएका ११ वर्षीय छोरा रेशमलालको साथमा अस्पतालमै थिइन्। लिलाराज घरमै थिए र उनले दाजुको छोरालाई पनि स्कुल पुर्याइदिने जिम्मा लिएका थिए। तर केही बेरमै त्यो जिम्मेवारी ज्याननाशको घटनामा परिणत भयो।
विद्यालय शोकमा, आइतबार एक दिनको बिदा
मदरल्याण्ड बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज भट्टका अनुसार घटनापछि विद्यालय स्तब्ध छ। “हिजोसम्म कक्षाकोठामा हाँसिरहेका, खेलिरहेका ती बालबालिका आज छैनन्,” भट्टले भने, “शिक्षकदेखि अभिभावकसम्म सबै आहत छन्।” विद्यालयले आइतबार एक दिनको शोक बिदा दिएको छ।
मानसिक स्वास्थ्य समस्या ?
लिलाराज नेपाली सेनाका निवृत्त जमदार थिए र केही समयदेखि डिप्रेसनको औषधि खाइरहेका थिए। प्रहरी अनुसन्धान अनुसार उनले अपराध स्वीकार गरिसकेका छन् र आफू पनि बाँच्न नचाहेको बताएका छन् ।
अस्पतालमा एक्ला बिरामी
अस्पतालमा हाल लिलाराजको कुनै कुरुवा छैन। अस्पताल प्रशासन र प्रहरीको सहयोगमा उपचार जारी रहेको चितवन मेडिकल कलेजका सूचना अधिकारी पारस अधिकारीले जानकारी दिए । “कुनै आफन्तले जिम्मेवारी नलिए पनि हाम्रो दायित्व हो – उपचार गर्नु, त्यो हामी गर्दैछौं,” उनले भने।

















