४ असार,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बन्जाडे लाई भैरहवा कारागारबाट पर्सा ल्याइने भएको छ। जिल्ला अदालत पर्सामा उनीहरू दुवैजना विरुद्ध सानो पाइला सहकारी ठगी को अभियोग दायर भएपछि अदालतले कारागारबाटै झिकाउने तयारी गरेको हो।
जिल्ला अदालत पर्साका सूचना अधिकारी रामनरेश महतोले रेसखबरसँग बुधबार अपरान्ह बताए अनुसार, रवि र छविलाई चाँडै पर्सा अदालतमा झिकाएर बयान लिइने र थुनछेक आदेश गरिनेछ। ’फरारको हकमा म्याद जारी हुन्छ। यसअघि नै कारागारमा रहेकाहरूलाई सम्बन्धित कारागारसँग समन्वय गरेर झिकाइन्छ। अब केही दिनमै उनीहरूलाई झिकाएर अदालतले पत्र काट्छ,’ महतोले भने।
२ अर्ब ३० करोडभन्दा बढीको हिनामिनाको अभियोग
सानो पाइला सहकारी ठगीको दोस्रो चरणको अभियोगमा कुल २९ जनालाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा उनीहरूले सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।
प्रतिवादीमध्ये २५ जना फरार रहेको र उनीहरूको हकमा अदालतबाटै म्याद जारी गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमा माग गरेको छ। बाँकी चारजना भने अन्य सहकारी ठगीकै अभियोगमा पुर्पक्षका लागि कारागारमा छन्।
अन्य सहकारी ठगी मुद्दामा पनि थुनामा
रवि लामिछाने र छविलाल जोशी बन्जाडे हाल रूपन्देहीको सुप्रिम सहकारी ठगी को अभियोगमा जिल्ला कारागार रूपन्देहीमा पुर्पक्षका लागि थुनामा छन्। छविलाई जिल्ला अदालत रूपन्देहीले र रविलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्न आदेश दिएको थियो। यद्यपि, रविलाई जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालतले छविको हकमा जिल्लाकै आदेश सदर गर्दै रविलाई पनि थुनामै राख्ने आदेश गरेपछि उनीहरू दुवैजना मुद्दाको फैसला नआउन्जेल थुनामै रहने भएका छन्। यो आदेश सर्वोच्च अदालतबाट पनि सदर भइसकेको छ।
यसैगरी, रामबहादुर खनाल र प्रमोद भट्टराई कास्कीमा थुनामा छन्। यी चारैजनालाई झिकाई मुद्दाको कारबाही अगाडि बढाउन माग गरिएको छ। अदालतले एउटै कारागारमा रहेका रवि र छविलाई एकसाथ बोलाउने र अर्को कारागारमा रहेका अन्य दुई जनालाई अर्को पटक बोलाउने तयारी गरेको छ।
फरार प्रतिवादीहरू र अन्य जिल्लामा मुद्दा
सानो पाइला सहकारीको दोस्रो चरणको अभियोगमा फरार रहेका प्रतिवादीहरूमा भूपेन्द्र राई, सागर केसी, मनिषा पाण्डे, दीपक लामा, विशाल तामाङ, कविता तामाङ, भगवती बम्जन, खिमानन्द कँडेल, नवीन अछामी, हेमन्त अधिकारी, दिपिका राई, नविना रिमाल, इरान लामा, सविना आले मगर, भक्तबहादुर भ्लोन, प्रदिप लामा, सविता लामा, शान्तिकुमारी सुवेदी, गणेशराज श्रेष्ठ, सुनिता नेवा, रोमन काफ्ले, कमल लामा, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल र नवराज राउत रहेका छन्। उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा कसुरदार बनाइएको छ।
यसअघि अनुसन्धानका क्रममा पनि रवि र छविलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मा अनुसन्धान चलिरहँदा अन्य जिल्ला डुलाएर बयान गराइएको थियो। उनीहरूविरुद्ध पोखरा र बुटवलसँगै चितवनको सहारा चितवन, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी मा पनि मुद्दा छ। बुटवलबाहेकका जिल्लाहरूले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए, तर त्यस विरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत गएको छ। यद्यपि, उच्च अदालतबाट यस सम्बन्धमा आदेश भइसकेको छैन।
यता, रवि लामिछानेले भैरहवा कारागारबाट काठमाडौँको डिल्लीबजारस्थित कारागारमा सरुवा गर्न माग गरेका छन्। अदालत र प्रशासनले यसका लागि अनुमति दिए पनि कारागार व्यवस्थापन विभागले भने यस सम्बन्धमा कुनै निर्णय नगरी अड्काएको छ। गृहमन्त्री रमेश लेखककै निर्देशनमा कारागार व्यावस्थापन विभागले रबिलाई कारागार सरुवा नदिएको आरोप छ ।
यो पनि पढ्नुहोस :-
पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी अपचलन मुद्दा दर्ता
रवि लामिछाने र जीबी राई नै सानो पाइला सहकारी घोटालामा जिम्मेवार : पूर्वडीआईजी जोशीको बयान

















