१२ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनसम्बन्धी चारवटा विवादित मुद्दामा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। न्यायाधीशत्रय तिल प्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।
यी मुद्दाहरूमा बद्री केसीले परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरेका दुई छुट्टाछुट्टै रिट छन्। यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले राजेश शमशेर राणालाई विपक्षी बनाएर दायर गरेका थप दुई मुद्दा पनि सोही इजलासमा छन्। यी सबै मुद्दा एनआरएनएको ११औं महाधिवेशन र त्यसपछि उठेका विवादसँग सम्बन्धित छन्।
गत वैशाखमा न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले यी मुद्दाहरूलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।
एनआरएनएको एकता महाधिवेशन तोकिएकै मिति (वैशाख २०/२२) मा हुनुपर्ने माग गर्दै राजेश शमशेर राणाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। अर्कोतर्फ, ११औं महाधिवेशनबाट निर्वाचित बद्री केसीले आफूले सर्वोच्चकै फैसलाबाट आधिकारिकता पाएको भन्दै एकता महाधिवेशन सार्न मागसहित मुद्दा दायर गरेका थिए। यद्यपि, वैशाखको सुरुमै दायर गरिएका यी मुद्दामा निरन्तर सुनुवाइ हुन नसक्दा सर्वोच्चकै परमादेशअनुसार गठन भएको समितिले वैशाख २१ गते एकताको महाधिवेशन सम्पन्न गरिसकेको छ। तर, अदालतले यस सम्बन्धमा थप सुनुवाइ आवश्यक भएको भन्दै पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो।














